काठमाडौं । नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुन ले आफ्नो संसदीय कार्यकालमा शिक्षा क्षेत्रको सुधारलाई प्रमुख प्राथमिकतामा राख्ने बताएका छन्।

सिंहदरबार पुगेर शपथ ग्रहणको तयारीका क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले शिक्षामा बढ्दो राजनीतिक हस्तक्षेप अन्त्य गर्नु आवश्यक रहेको औंल्याए। उनका अनुसार शिक्षा क्षेत्रलाई स्वच्छ, गुणस्तरीय र प्रभावकारी बनाउन राजनीतिकरण हटाउनुपर्ने अहिलेको प्रमुख आवश्यकता हो।

ad

‘गर्नुपर्ने काम धेरै छन्,’ उनले भने, ‘तर शिक्षामा देखिएको राजनीतिक प्रभाव हटाउनु मेरो मुख्य एजेन्डा हो।’

पुनले आफ्नो स्वभाव चुनौतीसँग जुध्दै अघि बढ्ने खालको रहेको उल्लेख गर्दै परिस्थितिअनुसार काम गर्ने धारणा पनि व्यक्त गरे। उनले भविष्यबारे ठोस योजना सार्वजनिक गर्नुभन्दा पनि कामबाटै देखाउने पक्षमा आफू रहेको संकेत गरे।

‘भविष्य कसैले ठ्याक्कै भन्न सक्दैन,’ उनले भने, ‘अहिल्यै ठूला प्रतिवद्धता जनाउनुभन्दा व्यवहारमै काम गरेर देखाउनु उपयुक्त हुन्छ।’