
काठमाडौं — भारतमा पेट्रोल र डिजेल अभाव भएको भन्ने खबरहरू निराधार रहेको त्यहाँका प्रमुख तेल कम्पनीहरूले स्पष्ट पारेका छन्। सरकारी स्वामित्वको इन्डियन आयल कर्पाेरेसन लिमिटेडले बुधबार विज्ञप्ति जारी गर्दै देशभर इन्धनको कुनै कमी नरहेको जनाएको हो।
कम्पनीका अनुसार सामाजिक सञ्जालमा फैलिरहेका अभावसम्बन्धी सूचनाहरू अफवाह मात्रै हुन्, जसले सर्वसाधारणमा अनावश्यक त्रास फैलाउन सक्छ। 'हाम्रा सबै आउटलेटहरूमा पर्याप्त भण्डार उपलब्ध छ र आपूर्ति प्रणाली नियमित रूपमा सञ्चालनमा छ,' विज्ञप्तिमा उल्लेख छ। कम्पनीले नागरिकहरूलाई हतारमा अनावश्यक इन्धन खरिद नगर्न र प्रमाणित स्रोतबाट मात्र जानकारी लिन आग्रह गरेको छ।
यसैबीच, अर्को सरकारी तेल कम्पनी हिन्दुस्तान पेट्राेलियम कर्पाेरेसनले पनि छुट्टै विज्ञप्तिमार्फत देशभर पेट्रोल, डिजेल र एलपीजीको आपूर्ति सहज र नियमित रहेको जनाएको छ। कम्पनीका अनुसार इन्धनको पर्याप्त मौज्दात भएकाले अभावको कुनै अवस्था नरहेको स्पष्ट गरिएको छ।
तेल कम्पनीहरूले सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचनाबाट सचेत रहन सर्वसाधारणलाई अनुरोध गर्दै आवश्यक परिमाणमा मात्रै इन्धन खरिद गर्न अपिल गरेका छन्।










Facebook Comments