
काठमाडौं । नेपाली कांग्रेस का नेता चन्द्र भण्डारी ले विगतमा राजनीतिक आधारमा विभिन्न राज्य निकायमा नियुक्ति पाएकाहरूलाई स्वेच्छाले पद त्याग्न सुझाव दिएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले जनताबाट विश्वास पाएको बहुमतको सरकार गठन भइसकेको सन्दर्भमा पुराना नियुक्तिहरू कायम राख्नु उपयुक्त नहुने उल्लेख गरेका छन्। “जनताले नयाँ सरकारलाई पत्याइसकेका छन्, त्यसैले विगतमा राजनीतिक नियुक्ति पाएकाहरूले पद छोडे राम्रो सन्देश जान्छ,” उनले लेखेका छन्।
भण्डारीले नयाँ राजनीतिक परिवेशमा स्वाभिमान देखाउने अवसर यही भएको संकेत गरेका छन्। ‘हटाइयो’ भन्ने अवस्थासम्म पुग्नुभन्दा अघि स्वेच्छाले जिम्मेवारी त्याग गर्नु नै उचित हुने उनको भनाइ छ। उनले यस्तो कदमले नयाँ राजनीतिक संस्कार बसाल्न सक्ने पनि उल्लेख गरेका छन्।
उनले पद, सुविधा र शक्ति मोहलाई स्वाभिमानसँग नजोड्न आग्रह गर्दै सादगी र नैतिकताको उदाहरण प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन्।










Facebook Comments