काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेका बालेन शाह ले जेनजी आन्दोलनबारे आफ्नो भूमिका स्पष्ट पारेका छन्। उनले २३ भदौमा आयोजित शान्तिपूर्ण र्‍यालीलाई समर्थन गरेको तर त्यसपछिको आन्दोलनमा आफू संलग्न नरहेको बताएका हुन्।

जेनजी आन्दोलन जाँचबुझ आयोग समक्ष दिएको बयानमा बालेनले २३ गतेको कार्यक्रमलाई शान्तिपूर्ण नागरिक अभिव्यक्तिको रूपमा समर्थन गरेको उल्लेख गरे। तर आन्दोलन उग्र बनेपछि त्यससँग आफ्नो सम्बन्ध नरहेको उनको दाबी छ।

ad

बयानका क्रममा उनले घटनाको जिम्मेवारी तत्कालीन सरकारमाथि नै लगाएका छन्। “सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मैले आन्दोलनलाई शान्त बनाउने भूमिका खेलेँ,” उनले भनेका छन्, “तर तत्कालीन सरकारले अत्यधिक बल प्रयोग गर्दै आतंकवादी शैली अपनायो, जसका कारण क्षति बढ्यो। यसको जिम्मा सरकार र सहभागी दलहरूले लिनुपर्छ।”

बालेनले आन्दोलनका क्रममा महानगरको भूमिका पनि उल्लेख गरेका छन्। व्यवसायी र रेस्टुरेन्ट सञ्चालकहरूको आग्रहमा महानगर प्रहरी बलमार्फत पानी वितरण गरिएको उनले जानकारी दिएका छन्।

उनका अनुसार सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई संयमता अपनाउन अपिल गरिएको थियो। “जनधनको सुरक्षा प्राथमिकता थियो, त्यसैले संयमता अपनाउन आग्रह गरिएको हो,” उनले बताएका छन्।

घटनापछि घाइते तथा मृतकका परिवारलाई राहत उपलब्ध गराउन महानगरका विभिन्न निकायसँग समन्वय गरिएको पनि उनले जनाएका छन्। साथै, २४ भदौमा भएको हिंसात्मक घटना २३ गतेको सरकारी बल प्रयोगकै परिणाम हुनसक्ने उनको भनाइ छ।

जेनजी आन्दोलनका घटनाबारे आयोगले विभिन्न पक्षसँग बयान लिने क्रम जारी राखेको छ।