
काठमाडौं । नेपाली कांग्रेस का सांसद भीष्मराज आङ्देबेले संसदीय दलको नेतामा आफू दाबेदार रहने घोषणा गरेका छन्। पाँचथरमा पारिवारिक शोकमा रहेका आङ्देबेले दलको नेता सहमतिमै चयन हुने विश्वास व्यक्त गरेका हुन्।
पूर्व सहमहामन्त्रीसमेत रहेका उनले वर्तमान राजनीतिक अवस्थालाई ‘विषम’ भन्दै अनावश्यक प्रतिस्पर्धा, गुट–उपगुट र विवादभन्दा पार्टीलाई स्पष्ट दिशा दिने नेतृत्व आवश्यक रहेको धारणा राखे। “अहिलेको परिस्थितिमा विभाजन होइन, एकतामार्फत पार्टीलाई मार्गदर्शन गर्ने नेतृत्व चाहिएको छ,” उनले बताएका छन्।
आङ्देबेले आफू दलको नेताका लागि इच्छुक रहेको कुरा पार्टी सभापति, पदाधिकारी तथा वरिष्ठ नेताहरूलाई जानकारी गराइसकेको जनाएका छन्। “मेरो चाहना व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि पार्टीलाई सहज बनाउने उद्देश्यले प्रेरित हो भन्ने कुरा मैले स्पष्ट पारेको छु,” उनले भने।
पार्टी नेतृत्वबाट हालसम्म स्पष्ट प्रतिक्रिया नआए पनि नकारात्मक संकेत नदेखिएको उनको भनाइ छ। सर्वसम्मतिमा चयन नभए चुनाव लड्नेबारे भने उनले परिस्थिति अनुसार निर्णय गर्ने संकेत दिएका छन्।
उता, दलको नेतामा अर्का दाबेदार अर्जुननरसिंह केसी सँग पनि छलफल भइरहेको आङ्देबेले बताए। “उहाँ वरिष्ठ नेता हुनुहुन्छ, उहाँप्रति मेरो सम्मान छ। हामीले आ-आफ्ना धारणा राखेका छौं, अन्ततः निर्णय पार्टीको हितलाई ध्यानमा राखेरै हुनेछ,” उनले थपे।
कांग्रेसभित्र संसदीय दलको नेतृत्व चयन प्रक्रिया अघि बढिरहँदा सहमति वा प्रतिस्पर्धा—दुवै सम्भावनालाई लिएर आन्तरिक छलफल तीव्र बन्दै गएको छ।










Facebook Comments