
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा आफू कारागारबाट स्वेच्छाले बाहिर ननिस्किएको बताएका छन्। उनले घटनाक्रमबारे आफ्नो धारणा जेनजी आन्दोलन जाँचबुझ आयोग समक्ष प्रस्तुत गरेका हुन्।
आयोगका अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको टोलीसमक्ष दिएको बयानमा लामिछानेले भदौ २३ गतेसम्म कारागारभित्रको अवस्था सामान्य रहेको उल्लेख गरेका छन्। तर भोलिपल्ट, भदौ २४ गते भने कारागार प्रशासनले बाहिर असामान्य अवस्था सिर्जना भएको र ठूलो भीड जम्मा भएकाले आफूलाई बाहिर पठाउने तयारी भएको जानकारी गराएको उनले बताएका छन्।
लामिछानेका अनुसार आफूले सुरुमा कारागारबाट बाहिर निस्कन अस्वीकार गरेका थिए। 'जेल प्रशासनले पटक–पटक आग्रह गरेपछि म प्राङ्गणमै बसेर भीडलाई सम्बोधन गर्न तयार भएँ,' उनले बयानमा भनेका छन्।
उनले थपे, 'प्रहरी आत्तिएको अवस्था थियो, त्यही बेला भीडले मलाई धकेल्दै कारागार बाहिर पुर्यायो।'
उनको यो अभिव्यक्तिले जेनजी आन्दोलनका क्रममा कारागार बाहिरको भीड नियन्त्रण र सुरक्षा व्यवस्थामाथि नयाँ प्रश्न खडा गरेको छ। आयोगले उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।










Facebook Comments