
काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधीरराज शर्माका अनुसार घटनासँग सम्बन्धित संकलित प्रमाण, बयान र प्रारम्भिक निष्कर्ष समेटिएको प्रतिवेदन औपचारिक रूपमा पेस गरिएको हो।
प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धानका लागि विभिन्न प्राविधिक र वैज्ञानिक विधिहरू प्रयोग गरिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहितका विज्ञ टोली, पोलीग्राफ परीक्षण, सीडीआर विश्लेषण तथा विधिविज्ञान प्रयोगशालाबाट प्राप्त रिपोर्टहरूको आधारमा प्रतिवेदन तयार पारिएको जनाइएको छ। केही प्राविधिक प्रतिवेदन अझै आउने क्रममा भए पनि हालसम्मका मुख्य निष्कर्षहरू समेटेर मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ।
यस घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो। उनीहरूमाथि जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गर्न सिफारिस गरिएको छ। अनुसन्धानबाट चारै जनाको संलग्नता देखिएको प्रहरीको दाबी छ।
घटनासम्बन्धी बयानमा एक नाबालक अभियुक्तले मृतकसँग लामो समयदेखि प्रेम सम्बन्ध रहेको र घटनाको दिन सहमतिमै शारीरिक सम्बन्ध भएको जिकिर गरेको छ। तर त्यसपछि स्वास्थ्य अवस्था बिग्रिएपछि साथीहरूलाई बोलाइएको उनको भनाइ उद्धृत गरिएको छ। यद्यपि, यस विषयमा अन्तिम सत्यता अदालतमा परीक्षण हुने प्रहरीले स्पष्ट पारेको छ।
सीसीटीभी फुटेजमा बिहानको समयमा इनिशा र एक किशोर मात्र सँगै गएको देखिएको पनि अनुसन्धानबाट खुलेको छ। पोस्टमार्टम रिपोर्टअनुसार अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ, जसलाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ।
फागुन २३ गते सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा भेटिएकी इनिशाको शव अझै कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ। परिवार र आफन्तले घटनालाई सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै निष्पक्ष अनुसन्धान र दोषीलाई कडा कारबाहीको माग गरेका छन्। उनीहरूले न्यायप्रति आशंका व्यक्त गर्दै शव बुझ्न अस्वीकार गरेका छन्।
इनिशा प्रकरणलाई लिएर देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् भने कर्णाली प्रदेशसभामा समेत यस विषयमा आवाज उठाइएको छ। अब प्रहरी अनुसन्धान सम्पन्न भएसँगै मुद्दा न्यायिक प्रक्रियामा प्रवेश गरेको छ, जहाँ संकलित प्रमाण र बयानका आधारमा अन्तिम निर्णय हुने अपेक्षा गरिएको छ।










Facebook Comments