
काठमाडौं । पर्यटन विभागमा दर्ता होटल तथा रिसोर्टको संख्या ३४९ पुगेको छ। विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर सञ्चालनमा रहेका यी होटल तथा रिसोर्टमा कुल १६ हजार ३५० कोठा र २५ हजार ८८१ शय्या उपलब्ध छन्।
यो तथ्यांकले पर्यटक स्तरभन्दा माथिल्लो श्रेणीका आवास सुविधाले दैनिक झण्डै २५ हजार ८८१ पर्यटक धान्ने क्षमता विकास भइसकेको देखाउँछ। दर्ता भएका होटलमध्ये पाँचतारे होटलको संख्या २८ पुगेको छ, जसमा ३ हजार ६२४ कोठा र ५ हजार ३४० शय्या छन्।
चारतारे होटल ४० वटा रहेको विभागले जनाएको छ। ती होटलमा २ हजार ८६४ कोठा र ४ हजार ३१५ शय्या छन्। त्यस्तै, तीनतारे होटल ३७ वटा छन्, जसमा २ हजार २५६ कोठा र ३ हजार ७८४ शय्या उपलब्ध छन्।
दुईतारे होटल ४९ पुगेका छन्, जसमा १ हजार ८७१ कोठा र ३ हजार २४१ शय्या छन् भने एकतारे होटल ४४ वटा छन्, जहाँ १ हजार २८ कोठा र १ हजार ७७९ शय्या छन्।
विशेष श्रेणीमा पाँचतारे डिलक्स होटल ३ वटा छन्, जसमा ५५५ कोठा र ६२० शय्या छन्। लक्जरी बुटिक वा हेरिटेज (पाँचतारे स्तर) होटल पनि ३ वटा छन्, जसमा २४५ कोठा र ४५५ शय्या छन्। चारतारे स्तरका डिलक्स/हेरिटेज होटल ५ वटा छन् भने तीनतारे स्तरको हेरिटेज बुटिक होटल १ वटा रहेको विभागको विवरणमा उल्लेख छ।
रिसोर्टतर्फ साधारण रिसोर्ट १२७, डिलक्स रिसोर्ट ९ र लक्जरी रिसोर्ट ३ वटा सञ्चालनमा छन्। यी रिसोर्टमा क्रमशः २ हजार ८१२, ४५२ र २४६ कोठा तथा ४ हजार ७४८, ६६३ र ३९८ शय्या उपलब्ध छन्।
यसैबीच विभागले होटल वर्गीकरणका लागि नयाँ मापदण्ड तयार गर्ने प्रक्रिया अघि बढाएको छ। हाल लागू रहेको २०७६ सालको मापदण्डलाई समयअनुकूल परिमार्जन गर्न सरोकारवालासँग सुझाव मागिएको छ।
विभागका अनुसार नयाँ मापदण्डमा ‘ग्रिन हस्पिटालिटी’ अवधारणालाई समेट्ने तयारी गरिएको छ। वातावरणीय सचेतना र दिगो पर्यटनको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै होटलको पूर्वाधार, सेवा गुणस्तर र वातावरणमैत्री अभ्यासलाई आधार बनाएर वर्गीकरण प्रणाली परिमार्जन गरिने जनाइएको छ।










Facebook Comments