
काठमाडौं । ज्योति विकास बैंकले 'ग्लोबल मनी विक २०२६' को अवसरमा देशव्यापी रूपमा साताव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले चैत २ गतेदेखि ८ गतेसम्म 'स्मार्ट मनी टक्स' भन्ने नाराका साथ सचेतनामूलक कार्यक्रमहरू आयोजना गरेको हो।
बैंकका विभिन्न शाखा कार्यालयहरूमार्फत देशभरका विद्यालय, कलेज र विभिन्न समुदायहरूमा ३० भन्दा बढी वित्तीय साक्षरता तालिम सञ्चालन गरिएका थिए। यी कार्यक्रमहरूबाट करिब दुई हजार २०० भन्दा बढी व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको बैंकले जनाएको छ।
कार्यक्रममा आधुनिक बैंकिङ, बचत, लगानी, डिजिटल वित्तीय सेवाहरू, धितोपत्र बजार र विद्युतीय ठगी (ओटीपी फ्रड) बाट बच्ने उपायहरूका बारेमा जानकारी गराइएको थियो। बैंकले सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट पनि वित्तीय चेतना फैलाउने कार्य गरेको विज्ञप्तिमा उल्लेख छ। संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै बैंकले स्वास्थ्य क्षेत्रमा पनि योगदान पुर्याउँदै आएको छ।
आर्थिक वर्षमा राज्यलाई ४१ करोड रुपैयाँ कर योगदान गरेको जानकारी दिँदै बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ। साना उमेरका बालबालिका र युवाहरूमा वित्तीय निर्णय लिने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको सूचना अधिकारी प्रकाश बरालले जानकारी दिए।










Facebook Comments