
काठमाडौं । नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ चैत १२ गते दिउँसो २ बजे हुने तय भएको छ। शपथ कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना गरिने भएको छ।
भवन निर्माण अझै पूर्ण नभएकाले मुख्य बैठक हल प्रयोगमा आउन सकेको छैन। संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार शपथ र प्रारम्भिक बैठकका लागि वैकल्पिक रूपमा बहुउद्देश्यीय हल तयारी अवस्थामा राखिएको हो। २०७६ असोज १ गते शिलान्यास गरिएको संसद् भवन करिब ९० प्रतिशत मात्रै सम्पन्न भएको जनाइएको छ।
निर्माण लागत पनि प्रारम्भिक अनुमानभन्दा उल्लेख्य रूपमा बढेको छ। सुरुवाती ५ अर्ब ६७ करोड रुपैयाँको योजना पाँच पटक म्याद थपिँदै ६ अर्ब ३० करोड पुगेको छ भने साजसज्जा र प्रविधि व्यवस्थापनसहित कुल लागत करिब ८ अर्ब ६४ करोड पुग्ने देखिएको छ।
शपथ कार्यक्रमको नेतृत्व ज्येष्ठ सदस्यका हैसियतमा अर्जुननरसिंह केसी ले गर्नेछन्। उनले अन्य सांसदलाई शपथ गराउनुअघि एक दिन अगाडि रामचन्द्र पौडेल समक्ष शपथ लिने कार्यक्रम छ।
यसपटक २४ जना सांसदले नेपालीबाहेक ११ विभिन्न मातृभाषामा शपथ लिने तयारी गरेका छन्। सचिवालयले तोकेको मितिसम्म प्राप्त विवरणअनुसार नेपाल भाषा (नेवारी) र मैथिलीमा सबैभन्दा धेरै—६/६ जना सांसदले शपथ लिनेछन्।
शपथसम्बन्धी ऐन, २०७९ ले सांसदलाई मातृभाषामा शपथ लिने अधिकार सुनिश्चित गरेको छ। सोअनुसार, शपथको पाठ आफ्नो भाषामा अनुवाद गरी स्वयं प्रमाणित गरेर सम्बन्धित अधिकारीसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ।
नेपाल बहुभाषिक मुलुकका रूपमा चिनिन्छ। राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर १२४ मातृभाषा प्रचलनमा छन् भने भाषा आयोगले यो संख्या १३१ रहेको जनाएको छ। नेपाली भाषा करिब ४५ प्रतिशत जनसंख्याको मातृभाषा भए पनि अन्य भाषाहरूको प्रयोग उल्लेख्य रूपमा कायम छ।
मातृभाषामा शपथ लिने परम्परा पुरानो भए पनि गणतन्त्रपछि यसको प्रयोग बढ्दो क्रममा देखिएको छ। संविधानसभा निर्वाचन २०६४ मा मात्रै २० भन्दा बढी भाषामा शपथ लिइएको थियो। पछिल्ला निर्वाचनहरूमा पनि यो अभ्यास निरन्तर रहँदै आएको छ।
सांसदहरूलाई शपथका लागि आवश्यक कागजातसहित निर्धारित समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन सचिवालयले आग्रह गरेको छ। औपचारिक पोसाक वा सांस्कृतिक पहिचान झल्काउने भेषभूषामा सहभागी हुन सकिने व्यवस्था गरिएको छ।
यसपटकको शपथ समारोहले संसदमा भाषिक विविधताको झल्को दिने अपेक्षा गरिएको छ।
मातृभाषामा शपथ लिने सांसदहरु
१. मैथिली भाषा
उज्ज्वलकुमार झा
दीपककुमार साह (महोत्तरी)
दीपककुमार साह (सुनसरी)
प्रमोदकुमार महतो
मातृका यादव
सीताराम साह
२. नेपाल भाषा (नेवारी)
अनुष्का श्रेष्ठ
कुलभक्त शाक्य
गंगालक्ष्मी अवाल
मदनकृष्ण श्रेष्ठ
रुकेश रञ्जित
विराजभक्त श्रेष्ठ
३. डोटेली भाषा
आकृति अवस्थी
दीपकराज बोहरा
हरिनादेवी कामी
४. भोजपुरी भाषा
कन्हैया बनिया
५. थारु भाषा
गीता चौधरी
प्रमिलाकुमारी गच्छदार
६. राना थारु भाषा
कृपाराम राना
७. संस्कृत भाषा
खुश्बु ओली
८. मगही भाषा
जोगकुमार यादव
९. अवधी भाषा
मोहम्मद इस्तियाक राई
१०. वान्तावा भाषा
ध्रुवराज राई
११. तामाङ भाषा
पर्शुराम तामाङ










Facebook Comments