काठमाडाैं । बुद्ध जन्मस्थल लुम्बिनीको विभिन्न स्थानमा संयुक्त राष्ट्र संघको सहयोगमा पर्यटक सूचना बोर्ड राखिएको छ ।

सूचना बोर्डको मङ्गलवार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) र कोकाकोला फाउन्डेसनका वरिष्ठ निर्देशक जेफ्री डेन्बेले संयुक्त रूपमा उद्घाटन गरे ।

ad

लुम्बिनी आउने तीर्थालु तथा पर्यटकहरूलाई लुम्बिनीको इतिहास र महत्वको बारेमा जानकारी दिने उद्देश्यले सूचना बोर्ड राखिएको विकास कोषले जनाएको छ ।

सूचना बोर्ड उद्घाटन अघि नेपाल पर्यटन बोर्ड मार्फत कार्यान्वयन तथा अनुगमन हुने युएनडिपिको दिगो विकास परियोजनाको कार्यक्रमहरूको बारेमा छलफल भएको थियो ।

छलफलमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामा, सदस्य सचिव दीपक श्रेष्ठ, कोकाकोला फाउन्डेसनका वरिष्ठ निर्देशक जेफ्री डेन्बे, युएनडिपी नेपालका उप-आवासिय प्रतिनिधि जुलियन सेभिया, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी, कोकाकोला कम्पनी भारतका निर्देशक आदित्य पान्डा र लुम्बिनी विकास कोषका अधिकारीहरूको सहभागिता रहेको थियो ।

लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले लुम्बिनी गुरुयोजनाभित्र गर्न सकिने सम्भावित विकास परियोजनाहरूको बारेमा जानकारी गराएका थिए । सो अवसरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हल परिसरमा वृक्षरोपणसमेत गरिएको थियो ।