काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिन निर्णयविरुद्धको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ । 

सर्वोच्च अदालतमा सुनुवाइका क्रममा रहेको उक्त मुद्दा सुनुवाइ नसकिएपछि न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले सोमबार पनि हेर्दाहेर्दैमा राखेको थियो ।

ad


उक्त मुद्दामा त्यसअघि चार दिन लगातार सुनुवाइ भएको थियो । सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गरेका थिए । रिट निवेदकको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय गरेपछि त्यसलाई बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका थिए ।