
काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यद्वय आशिष गजुरेल र सोम शर्मालाई एक विशेष समारोहका बीच बधाई तथा शुभकामना व्यक्त गरेको छ।
ललितपुरस्थित रोयल टुलिप होटलमा आयोजित कार्यक्रममा सिन्धुलीबाट निर्वाचित गजुरेल र बागलुङबाट निर्वाचित शर्मालाई सफल कार्यकालको शुभकामना दिँदै नेपाली सडक, यातायात, अटोमोबाइल, सडक सुरक्षा, साहसिक खेलकुद तथा दिगो पर्यटनका विविध आयामका बारेमा ध्यानाकर्षण पत्रसमेत हस्तान्तरण गरिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएका उनीहरू दुवै जना यस्तो दलका प्रतिनिधि हुन्, जसले संसदमा करिब दुई-तिहाइ बहुमतसहित सरकार गठन गर्ने तयारी गरिरहेको छ।
अल्पाइन स्पोट्र्स फेडेरेसन–नेपालसँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा नासा नेपालका अध्यक्ष दशरथ रिसाल, सल्लाहकार ठाकुर प्रसाद न्यौपाने, राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य सुवर्ण केशरी श्रेष्ठ तथा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले नवनिर्वाचित सांसदहरूलाई बधाई ज्ञापन गरे । साथै, संघका उपाध्यक्षद्वय अनिल कुमार बराल र सिताराम न्यौपाने, अल्पाइन स्पोट्र्स फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराई, रोड सेफ्टी स्कलर भगवती सेढाई र कर्णाली अल्पाइन स्पोट्र्स फेडेरेसनका अध्यक्ष देविकृष्ण रोकाया लगायतका पदाधिकारीहरूले पनि उनीहरूको सफल कार्यकालको कामना गरेका थिए ।

कार्यक्रममा आशिष गजुरेललाई अटोमोबाइल, यातायात व्यवस्थापन र सडक सुरक्षाका विषयमा र सोम शर्मालाई साहसिक खेलकुद तथा दिगो पर्यटनका क्षेत्रमा केन्द्रित रहेर ध्यानाकर्षण पत्र बुझाइएको थियो। सो अवसरमा बोल्दै सांसद गजुरेलले आफ्नो शैक्षिक र व्यावसायिक अनुभवलाई राजनीतिक प्रतिबद्धतासँग जोड्दै सक्रिय रूपमा काम गर्ने बताए । उनले नासा नेपालका दक्ष र योग्य व्यक्तिहरूलाई आगामी सरकारको योजनामा साथ दिन समेत अनुरोध गरे । त्यस्तै, अर्का सांसद सोम शर्माले नेपाली साहसिक खेलकुद क्षेत्रमा आफ्नो सक्रिय नेतृत्व रहने बताउँदै गण्डकी प्रदेश र बागलुङलाई साहसिक पर्यटनको केन्द्र बनाउन आफू प्रतिबद्ध रहेको र यसका लागि सम्बद्ध संस्थाहरूको सहयोगको अपेक्षा राखेको उल्लेख गरे ।










Facebook Comments