काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सरकारसम्म सशक्त रूपमा पुर्‍याउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरेका छन्। 

महासंघको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्यानलगत विभाजनले निजी क्षेत्रलाई कमजोर बनाउने भन्दै समझदारीमा जोड दिएका हुन्।

ad

अध्यक्ष ढकालका अनुसार देश अहिले दुई तिहाइ बहुमतको स्थायी सरकार बन्ने प्रक्रियामा रहेकाले यस्तो बेला निजी क्षेत्र एकढिक्का हुनु अनिवार्य छ। 'हामी एकढिक्का भयौँ भने मात्रै सरकारले हाम्रो आवाज सुन्छ,' उनले भने, 'फरक–फरक समूहमा विभाजित हुँदा हाम्रा मुद्दाहरू ओझेलमा पर्न सक्छन्।'

आफ्नो निर्वाचन अनुभव सुनाउँदै अध्यक्ष ढकालले उम्मेदवारहरूलाई चुनावी गणितको यथार्थ बुझ्न सुझाव दिए। चन्द्रागिरिमा आयोजित विगतको एक भेलाको स्मरण गर्दै उनले भने, 'त्यतिबेला ७८ जनाले शतप्रतिशत भोट दिने प्रतिबद्धता जनाएका थिए, तर परिणाम आउँदा मैले ५१ भोट मात्र पाएँ। त्यसैले भोट माग्दा सबैले ‘दिन्छु’ भने पनि भोट खसाल्ने बेला अवस्था अर्कै हुन्छ भन्ने बुझ्नुपर्छ।'

महासंघको संशोधित विधानले पदाधिकारीका पदहरू थपेकाले धेरै उम्मेदवारहरू समेटिन सक्ने अवस्था रहेको उनले बताए। अध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्ष र अन्य उम्मेदवारहरूलाई व्यक्तिगत प्रतिष्ठा (इगो) त्यागेर पदाधिकारी तहमा सर्वसम्मतिको वातावरण बनाउन आग्रह गरे। निर्वाचनमा जाँदा अनपेक्षित परिणाम आउन सक्ने भन्दै उनले संसदीय निर्वाचनको उदाहरण समेत दिए।

अध्यक्ष ढकालले संशोधित विधानले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको प्रतिनिधित्व र अधिकारलाई अझ व्यापक बनाएको जानकारी दिँदै निजी क्षेत्रको बलियो उपस्थितिका लागि एकता नै एकमात्र विकल्प भएको निष्कर्ष निकालेका छन्।