काठमाडौं । नयाँ सरकार गठनको प्रक्रिया नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी भित्र मन्त्रिपरिषद् गठन र मन्त्रालय बाँडफाँटबारे आन्तरिक गृहकार्य तीव्र बनेको छ। पार्टी नेतृत्वबीच सम्भावित मन्त्रीको सूची र जिम्मेवारीबारे अनौपचारिक संवाद जारी रहेको स्रोतले जनाएको छ।

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह बीच मन्त्री चयनका मापदण्ड र सन्तुलन मिलाउने विषयमा निरन्तर छलफल भइरहेको बताइएको छ। पार्टीले यसपटक परम्परागत भागबण्डाभन्दा फरक ढंगले विज्ञता र कार्यक्षमतामा आधारित मन्त्रिपरिषद् बनाउने संकेत दिएको छ।

ad

संघीय संसदको आगामी प्रक्रिया अनुसार चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ गराउने तयारी छ। त्यसपछि संसदीय दलको बैठकबाट दलको नेता चयन गरिनेछ, जसले सरकार गठनको बाटो खुलाउनेछ।

रास्वपाले आफ्नो चुनावी प्रतिबद्धताअनुसार मन्त्रालय संख्या घटाउने रणनीति अघि सारेको छ। संवैधानिक रूपमा २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन सकिने भए पनि पार्टीले १५ देखि १८ मन्त्रालयभित्र सीमित राख्ने तयारी गरेको बुझिएको छ।

आन्तरिक छलफलमा केही नामहरू मन्त्रीका रूपमा अगाडि आएका छन्। गृह मन्त्रालयका लागि डोलप्रसाद अर्याल र सुनिल लम्साल को चर्चा छ भने अर्थ मन्त्रालयका लागि स्वर्णिम वाग्ले लाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ। कानुन मन्त्रालयमा सोबिता गौतम र परराष्ट्र मन्त्रालयमा शिशिर खनाल को नाम चर्चामा रहेको छ।

यसका साथै विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सस्मित पोखरेल, राजुनाथ पाण्डे र सुम्निमा उदास पनि सम्भावित मन्त्री सूचीमा रहेको चर्चा छ।

उता, प्रतिनिधिसभाको सभामुखका लागि भने नयाँ र युवा अनुहार ल्याउने रणनीति बनाइँदैछ। पार्टीभित्र नेतृत्व पुस्तान्तरणको संकेत दिने गरी यो पदमा फरक छनोट हुनसक्ने नेताहरूको भनाइ छ।

सरकार गठनको औपचारिक प्रक्रिया सुरु हुन बाँकी भए पनि रास्वपाभित्रको तयारीले सम्भावित नयाँ सरकारको प्रारम्भिक रूपरेखा झल्काउन थालेको छ।