काठमाडौं । नेपाली कांग्रेस अब १५औँ महाधिवेशनतर्फ मोडिएको छ। भोलि बस्ने केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्ययोजना र समयतालिकामाथि गम्भीर छलफल हुने तयारी गरिएको छ।

प्रतिनिधि सभाको निर्वाचनमा आएको कमजोर परिणामपछि सभापति गगन थापा ले दिएको राजीनामा केन्द्रीय समितिले अस्वीकार गरेपछि उनी नै नेतृत्वमा निरन्तर रहने स्पष्ट भएको छ। यससँगै भोलिको बैठक पनि थापाकै अध्यक्षतामा बस्नेछ, जहाँ उनले महाधिवेशनको प्रारम्भिक खाका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

ad

उता, पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने नेतृत्वप्रति असन्तुष्ट देखिएको छ। निर्वाचनको हारको मुख्य जिम्मेवारी थापामाथि राख्दै देउवा समूहले समानान्तर गतिविधि अघि बढाउने संकेत दिएको छ। उनीहरू अलग्गै कार्यसमिति बैठकको तयारीमा रहेको बुझिएको छ, जसले पार्टीभित्रको शक्ति-सन्तुलनमा नयाँ तरंग ल्याउने देखिन्छ।

पार्टीभित्र बढ्दो ध्रुवीकरणलाई नियन्त्रण गर्दै एकता कायम राख्न महाधिवेशन नै निर्णायक माध्यम हुने नेताहरूको ठहर छ। एक नेताका अनुसार अहिलेको प्राथमिकता पार्टीलाई फुटबाट जोगाउँदै साझा धारमा ल्याउनु हो, जसका लागि महाधिवेशन अपरिहार्य बनेको छ।

केन्द्रीय सदस्य मधु आचार्यले पनि अहिलेको जटिल परिस्थितिमा पार्टीलाई सम्हाल्दै महाधिवेशनसम्म लैजाने जिम्मेवारी सभापति थापाकै भएको उल्लेख गर्दै त्यसैकारण उनको राजीनामा अस्वीकार गरिएको बताएका छन्।

अब कांग्रेसले चुनावी समीक्षा, आन्तरिक व्यवस्थापन र संगठन सुदृढीकरणलाई सँगसँगै अघि बढाउँदै महाधिवेशनमार्फत नयाँ दिशा तय गर्ने तयारी गरेको छ।