काठमाडौं । नेपाली कांग्रेसले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ।  

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा  प्रवक्ता देवराज चालिसेले ३ देखि ५ हजारभन्दा कम मतान्तरले हारेका क्षेत्रहरूमा मुख्य रूपमा आन्तरिक कमजोरी जिम्मेवार देखिएको जानकारी दिए । 

ad

चालिसेको भनाइमा ३ देखि ५ हजार मतान्तरले पराजित भएका क्षेत्रमा संगठनभित्रको मतभिन्नता र चुनावी अभियानमा भएका कमजोरी प्रमुख कारण बनेका छन्। त्यस्तै ५ देखि १० हजारसम्मको ठूलो मतान्तरले हारेका क्षेत्रमा अन्तर्घात, कमजोर प्रचार अभियान र प्रतिकूल ‘न्यारेटिभ’ का कारण पार्टी रक्षात्मक अवस्थामा पुगेको निष्कर्ष कांग्रेसले निकालेको छ । 

प्रवक्ता चालिसेले ३ देखि ५ हजारभन्दा कम मतान्तरले हारेका २०/२१ वटा निर्वाचन क्षेत्रमा मुख्यतः आन्तरिक कारण जिम्मेवार देखिएको बताए । 


उनका अनुसार केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई मतदातामा कांग्रेसप्रतिको विश्वासमा समेत कमी आएको देखिएको छ। ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको पार्टीले अपेक्षित मत नपाउनु गम्भीर समीक्षा विषय बनेको उनले बताए।

जारी बैठकमा मुख्य रूपमा निर्वाचन समीक्षा र सभापतिको राजीनामासम्बन्धी विषयमा छलफल भइरहेको पनि उनले जानकारी दिए।