काठमाडौं । दोलखाको प्रसिद्ध धार्मिक तथा प्राकृतिक गन्तव्य कालिञ्चोक र शैलुङ क्षेत्रमा शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपात शनिबार साँझसम्म निरन्तर चलेको छ। स्थानीय व्यवसायी र पर्यटकहरूले हिउँले ढाकिएको सुन्दर दृश्यमा रमाईलो गरिरहेका छन्।

कालिञ्चोक कुरीस्थित होटल सुनपातिका मेनेजर विमल ओझाका अनुसार, शुक्रबार दिउँसो ४ बजेबाट राति १० बजेसम्म हिमपात भई, शनिबार विहानैदेखि फेरि सुरु भएको थियो। “हाल क्षेत्रको आधा फिटभन्दा बढी हिउँ जमिसकेको छ, र पर्यटकहरू बिहानैदेखि हिउँमा रमाईलो गर्दैछन्,” उनले भने।

ad

३,८४२ मिटर उचाइमा अवस्थित कालिञ्चोक मन्दिर क्षेत्रमा शुक्रवार र शनिवार विशेषगरी पर्यटकको भिड लाग्ने गर्छ। महादेव–पार्वतीको तपस्या स्थलीका रूपमा परिचित यस टाँपुमा रहेको पवित्र कुण्डमा वर्षभरी पानी रहने विश्वास गरिन्छ। स्थानीय किंवदन्ती अनुसार, कालो भेडाले दैनिक दूध दिने भएकाले यहाँ कालिञ्चोक भगवतीको पूजा प्रचलित छ।

कालिञ्चोक टाँपुबाट गौरीशङ्कर हिमश्रृङ्खला, दोलखा र सिन्धुपाल्चोकका पर्वत तथा चीनको हिमाल देख्न सकिन्छ। काठमाडौंबाट १३३ किलोमिटरको दूरी तय गरी दोलखा सदरमुकाम चरिकोट पुग्ने, त्यहाँबाट १७ किलोमिटर उकालो चढेर कालिञ्चोक कुरीमा प्रवेश गर्न सकिन्छ। कुरीबाट केबल कार वा झण्डै एक घण्टाको पैदल यात्रा गरेर टाँपु पुग्न सकिन्छ। पछिल्लो समय खुर्कोट मार्ग सञ्चालन भएपछि रामेछाप हुँदै तराई र भारतका विभिन्न सहरबाट पनि पर्यटक आउने क्रम बढेको छ।

स्थानीय व्यवसायी चन्द्र लामाका अनुसार, पुरातत्व विभाग र प्रदेश सरकारको सहयोगमा मन्दिर निर्माण, संरचना सुधार र पर्यटक व्यवस्थापनमा थप काम भइरहेको छ।

त्यसैगरी, दोलखाको अर्को धार्मिक र प्राकृतिक गन्तव्य शैलुङ (३,१४६ मिटर) मा पनि शुक्रबार राति हिमपात भएको छ। स्थानीय दिपेश श्रेष्ठका अनुसार, हिमपातपछि शनिबार विहानदेखि पर्यटकहरू शैलुङको मनोरम दृश्य हेर्न रमाईलो गरिरहेका छन्। शैलुङमा एकसय वटा थुम्का रहेका छन् र यहाँबाट हिमश्रृङ्खला अवलोकन गर्न दैनिक स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन्।

यस क्षेत्रमा ग्रेटवाल, शिव मन्दिर, भीमसेन तरवार र गुम्बा जस्ता सांस्कृतिक सम्पदाहरू पनि छन्, जसले शैलुङको धार्मिक, सांस्कृतिक र पर्यटकिय महत्व थप बढाएको छ।

स्थानीयहरूका अनुसार, हिमपातपछि दुवै क्षेत्रको प्राकृतिक सौन्दर्य अझै प्रभावशाली बनेको छ र पर्यटकहरूको रमाइलो र आकर्षणमा वृद्धि भएको छ।