काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान अवस्था सुधार नगरे आगामी निर्वाचनमा सिट संख्या अत्यन्त न्यून हुन सक्ने चेतावनी दिएका छन्। शनिबार बुटवलमा “चिन्तन अभियान नेपाल”को आयोजना गरेको कार्यक्रममा उनले पछिल्ला तीन निर्वाचनको नतिजा विश्लेषण गर्दै पुराना राजनीतिक दलहरूको अवस्था कमजोर बन्दै गएको बताए।

सुरेन्द्र पाण्डेले पार्टीभित्रको कमजोरी सुधार नगरे भविष्यमा कार्यकर्ता समेत चुनावी मैदानमा आउन नचाहने अवस्था सिर्जना हुने चेतावनी दिए। “हार्ने निश्चित भएको चुनावमा कार्यकर्ता किन उठ्छरु?” उनले प्रश्न गरे। उनले नेतृत्वले आत्मालोचना नगरे आगामी निर्वाचनमा पार्टीको स्थिति अझ कमजोर हुने स्पष्ट गरे।

ad

उनले २०७४ सालको निर्वाचन सम्झँदै भने, त्यस समयमा एमालेले १७४ सिट जितेको भए पनि त्यस उपलब्धिलाई कायम राख्न नसकेको स्वीकार गरे। उनले व्यंग्य गर्दै भने, “पहिला कम्युनिस्टहरू ३–४ वटा बसमा आउँथे, २०७९ सम्म आइपुग्दा एउटै बसमा अट्ने भयौँ, अहिले त माइक्रो बसमा अट्ने अवस्थामा छौँ। यस्तै जारी रह्यो भने अर्को पटक त स्कुटरमै अट्ने हुन्छ।”

सुरेन्द्र पाण्डेले पार्टीभित्र सुधारको लागि कठोर निर्णय लिनुपर्नेमा जोड दिँदै नेतृत्वलाई चेतावनी दिए। उनले भने, “सिर्फ विगतका गल्तीको पछिल्ला नतिजामा मात्र होइन, अब सही दिशातर्फ अघि बढ्नु नै हाम्रो जिम्मेवारी हो।” उनका अनुसार नेतृत्वले आफ्ना कमजोरी स्वीकार नगर्ने हो भने कार्यकर्ता उत्साहित हुने अवस्था सिर्जना गर्न कठिन हुनेछ।

पाण्डेले संविधानमा पार्टी अध्यक्ष वा प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था गर्न नसक्नु पनि ठूलो कमजोरी भएको औंल्याए। यसले पार्टीको नेतृत्व परिवर्तनमा बाधा पुर्‍याएको र लोकतान्त्रिक प्रक्रिया कमजोर बनाएको उनको विश्लेषण थियो।

उनले पुराना राजनीतिक दलहरूको स्थिति विश्लेषण गर्दै भने, “अब सबै दलहरू समान रूपले चुनौतीपूर्ण अवस्थामा छन्। यदि कार्यशैली परिवर्तन नगरी रहयो भने सबै दलहरू ‘सामूहिक मलामी’को स्थितिमा पुग्न सक्छन्।” उनको भनाइ अनुसार केवल पार्टीभित्र सुधार नगर्ने मात्र होइन, समग्र राजनीतिक प्रणाली पनि नयाँ सोच र नीतिगत परिवर्तन आवश्यक छ।

पाण्डेले कार्यकर्ताहरूलाई सक्रिय रहन र पार्टीभित्रको सुधारको भाग बन्न आग्रह गरे। उनका अनुसार, पार्टीको मजबुती केवल चुनावमा जित्ने मात्र होइन, संगठनलाई दीर्घकालीन रूपमा जीवित राख्न पनि आवश्यक छ।

नेता पाण्डेले आगामी निर्वाचनलाई आधार बनाएर पार्टीको रणनीति र कार्यशैलीमा सुधार आवश्यक रहेको जोड दिए। उनका अनुसार, नेतृत्वले विगतका गल्तीबाट सिकेर भविष्यमा रणनीतिक निर्णय लिनुपर्दछ।

कार्यक्रममा उपस्थित अन्य नेताहरूले पनि सुरेन्द्र पाण्डेका विचारलाई समर्थन गरेका थिए। पार्टीभित्र सुधार र नेतृत्व परिवर्तनको आवश्यकता बारे छलफल भइरहेको छ। विश्लेषकहरूको अनुसार, यदि पार्टीले तत्काल सुधार नगरे आगामी निर्वाचनमा एमालेको स्थिति कमजोर हुन सक्ने सम्भावना छ।