काठमाडौं । जनयुद्धकालीन मुद्दाहरू समाधान गर्ने प्रमुख संयन्त्रका रूपमा स्थापित सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी)लाई निष्कर्षमा पुर्‍याउन पुराना राजनीतिक दलहरू असफल भएको र अब त्यसको जिम्मेवारी नयाँ राजनीतिक नेतृत्वतर्फ सरेको वक्ताहरूले बताएका छन्।

राजधानीमा बिहीबार अखिल नेपाल जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताहरूले पुराना दलहरूले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनुको सट्टा सत्ताकेन्द्रित राजनीति गरेको आरोप लगाए। उनीहरूले पछिल्लो समय उदाएका नयाँ राजनीतिक शक्तिले उक्त दायित्व गम्भीरतापूर्वक लिनुपर्ने धारणा व्यक्त गरे।

ad

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले विस्तृत शान्ति सम्झौतापछि संक्रमणकालीन न्यायका मुद्दाहरूलाई तार्किक निष्कर्षमा पुर्‍याउन नसक्नुमा प्रमुख दलहरूको कमजोरी रहेको बताए। उनका अनुसार जनयुद्धको नेतृत्व गरेको पक्ष नै जिम्मेवार ढंगले अघि नबढ्दा समस्या जटिल बनेको हो। उनले चेतावनी दिँदै टिआरसी प्रक्रियालाई आगामी सरकारले प्राथमिकतामा नराखे थप असन्तोष र संकट निम्तिन सक्ने बताए।

भण्डारीले नयाँ राजनीतिक शक्तिप्रति जनताले देखाएको विश्वासलाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रहितमा गरिने काममा सहयोग गर्नुपर्ने तर पुरानै प्रवृत्ति दोहोरिए त्यसको विरोध गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य माइला लामाले हालैका राजनीतिक परिवर्तनहरूले जनताको स्पष्ट परिवर्तन चाहनालाई संकेत गरेको बताए। उनले जनयुद्धका उपलब्धिहरूलाई संरक्षण गर्दै नयाँ शक्तिसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताए, तर जनविरोधी गतिविधिविरुद्ध सधैं प्रतिरोध गर्ने चेतावनी पनि दिए।

महासंघका महासचिव कुशल बोगटीले २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा राज्यद्वारा जनकलाकारहरूको हत्या गरिएको घटनाको स्मरणमा ‘सांस्कृतिक प्रतिरोध दिवस’ मनाउँदै आएको जानकारी दिए। उनले विगतका बलिदानको संरक्षण गर्दै प्राप्त परिवर्तनलाई जोगाउन सबै पक्ष सचेत हुनुपर्ने बताए।

कार्यक्रममा विभिन्न कविहरूले कविता वाचन गरेका थिए भने कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए, जसले कार्यक्रममा सांस्कृतिक र राजनीतिक सन्देश दुवै प्रस्तुत गरेको थियो।