
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित सहिदपार्क नजिकको जंगलमा मृत अवस्थामा भेटिएकी १६ वर्षीया इनिशा विकको घटनाले अझैसम्म न्यायको स्पष्ट दिशा नपाउँदा उनका परिवारले शव उठाउन अस्वीकार गरेका छन्। घटनाको १३ दिन बितिसक्दा पनि शव प्रदेश अस्पतालको शवगृहमै राखिएको छ।
कक्षा ११ मा अध्ययनरत इनिशा उषा बालवाटिका विद्यालयकी विद्यार्थी थिइन्। उनी गत २३ गते बिहान ट्युसन पढ्न घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी मृत अवस्थामा फेला परेकी थिइन्, जसले घटनालाई थप रहस्यमय बनाएको छ।
परिवारजनले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। यही मागका कारण उनीहरूले शव बुझ्न नमानेका हुन्। कर्णाली प्रदेशका विभिन्न जिल्लासहित देशका अन्य स्थानबाट पनि इनिशाका पक्षमा न्यायको माग उठिरहेको छ।
यसबीच, भेरी अस्पताल नेपालगन्जमा गरिएको पोस्टमार्टम रिपोर्टले भने घटनालाई फरक ढंगले संकेत गरेको छ। फरेन्सिक विज्ञ डा. अर्विन शाक्यका अनुसार अत्यन्तै हिंसात्मक यौन सम्पर्कका कारण शरीरको संवेदनशील अंगमा गम्भीर क्षति भई अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको देखिएको छ। तर, सामूहिक बलात्कार भएको स्पष्ट प्रमाण भने हालसम्म नदेखिएको उनको भनाइ छ। थप परीक्षणका लागि नमुना विधिविज्ञान प्रयोगशालामा पठाइएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ।
घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली सुर्खेत पुगेर काम अघि बढाइरहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोनजंग बुढथापाका अनुसार सीआईबी र स्थानीय प्रहरीबीच समन्वयमा अनुसन्धान भइरहेको छ र थप विवरण आउन अझै केही समय लाग्न सक्छ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिएको छ। ती सबै १८ वर्षमुनिका रहेको बताइएको छ। उनीहरूमाथि अनुसन्धान जारी छ।
यद्यपि, परिवारको मागअनुसार निष्पक्ष र छिटो अनुसन्धान नभएसम्म शव नउठाउने अडान कायम छ। यसले घटनालाई केवल आपराधिक अनुसन्धानको दायरामा सीमित नराखी सामाजिक न्याय र कानुनी विश्वसनीयताको प्रश्नका रूपमा समेत उठाएको छ।










Facebook Comments