
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठक पुरस्कृत भएका छन्। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चैत २ गते एक विशेष निर्णय गर्दै पाठक सहित १९ जना एसपीहरूलाई उनीहरूको कार्यसम्पादनको उच्च कदर गर्दै नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन्। निर्वाचनका क्रममा शान्ति सुरक्षा कायम राख्न र भयरहित वातावरण निर्माण गर्न अहोरात्र खटिएका अधिकारीहरूको मनोबल उच्च राख्न यो सम्मान दिइएको हो।
पुरस्कृत हुनेहरूमा एआइजिपीदेखि प्रहरी जवानसम्मका कुल ६९ जना प्रहरी कर्मचारीहरू रहेका छन्। उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई पुरस्कृत गर्दा सङ्गठनभित्र सकारात्मक प्रतिस्पर्धाको विकास हुने र अन्य प्रहरी कर्मचारीहरूमा पनि थप ऊर्जा एवं जिम्मेवारीबोध बढ्ने विश्वास आइजिपी कार्कीले व्यक्त गरेका छन्। सङ्गठनले प्रदान गर्ने यस्तो विभागीय पुरस्कारले व्यावसायिक निष्ठाका साथ काम गर्ने जनशक्तिलाई प्रोत्साहन मिल्ने र आगामी दिनमा प्रहरी सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।










Facebook Comments