
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले विगतको विद्रोही र आलोचक छविबाट माथि उठेर निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिएका छन् ।
रास्वपाद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि ललितपुरको ग्वार्कोस्थित टुलिप होटलमा आयोजित अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले सार्वजनिक रूपमा जथाभावी अभिव्यक्ति दिने र प्राप्त अभिमतलाई मनोरञ्जनका रूपमा लिने छुट कसैलाई नरहेको पनि बताए । उनले रास्वपाभित्र सिंगो देशको अनुहार रहेको र विभिन्न पृष्ठभूमि बाट आएका व्यक्तिहरू रहेको भन्दै यो विशाल परिवारलाई एउटै ट्र्याकमा लैजान अनुशासनको अत्यन्त ठूलो खाँचो रहेको बताए । उनले नवनिर्वाचित सांसदहरुलाई पार्टी अनुशासन रहन पनि निर्देशन दिए ।
उनले भने– भोट दिएका जनताको शिर झुक्ने काम कसैको अभिव्यक्ति वा क्रियाकलापबाट हुनुहुँदैन। सञ्चारमाध्यममा बोल्न र आफ्ना बारेमा वाहवाह हुँदा रमाइलो लाग्छ। सञ्चारकर्मी साथीहरूले राम्रो कुरा लेखिदिँदा मख्ख पर्नुहोला, तर तपाईंले दिने अभिव्यक्तिले वैदेशिक सम्बन्ध वा अर्थतन्त्रमा के प्रभाव पारेको छ भन्ने याद नगरी हल्काफुल्का रूपमा उभिनुभयो भने त्यसले देशलाई दीर्घकालीन असर गर्न सक्छ। अब तपाईं हिजोको मान्छे होइन, जिम्मेवार सांसद र राजनीतिज्ञ हो । हामीमाथि देश बनाउने, देशमा परिवर्तन गर्ने जिम्मेवारी छ ।
सभापति लामिछानेले शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी बाँधिन्छ, अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्ने पनि बताए । नत्र पुराना राजनीतिक दललाई त नेपाली जनताले ३४र३५ वर्ष कुरे, तपाईं–हामीलाई ३६ महिना वा ३६ दिन पनि कुर्नेवाला छैनन्, सभापति लामिछानेले भने ।
सभापति लामिछानेले सुशासनमा नयाँ मानक स्थापना हुने र मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लिएर जान अहोरात्र काम गर्ने पनि स्पष्ट पारे ।










Facebook Comments