काठमाडौं । अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको काम पछिल्लो समय तीव्र पारिएको छ। थप गरिएको समयभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्यसहित काभ्रेपलाञ्चोक र भक्तपुर दुवैतर्फ निर्माणको गति बढाइएको हो।

आयोजनाका प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर विजयकुमार महतो का अनुसार सूर्यविनायकदेखि धुलिखेलसम्म करिब १६ किलोमिटर सडक दुईवटा छुट्टाछुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ।

ad

उनका अनुसार काभ्रेपलाञ्चोकतर्फ साँगा देखि धुलिखेल सम्मको सडक खण्डमा हालसम्म करिब ६८ प्रतिशत भौतिक प्रगति भएको छ। उक्त खण्डमा तीन किलोमिटर सडकमा पहिलो तहको डिबिएम कालोपत्रे सम्पन्न भइसकेको छ भने अन्य स्थानमा सिमेन्ट बेस र सब–बेस निर्माणको काम जारी रहेको आयोजनाले जनाएको छ।

बनेपा बजार क्षेत्रमा देखिएको विवाद समाधान भएपछि त्यहाँ पनि निर्माण कार्य सुरु भएको छ। आयोजनाले आगामी असारसम्म काभ्रेपलाञ्चोकतर्फ करिब ८५ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखेको छ। सो अवधिसम्म साढे आठ किलोमिटर सडकमा पहिलो तहको कालोपत्रे गर्ने योजना रहेको महतोले बताए।

यसैबीच भक्तपुरतर्फ सूर्यविनायक देखि साँगासम्मको सडक खण्डमा करिब ४६ प्रतिशत भौतिक प्रगति भएको छ। नाली, टेवा पर्खाल लगायत पूर्वाधार निर्माणको काम भने करिब ९५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ। साँगा क्षेत्रमा करिब एक किलोमिटर लम्बाइको अन्डरपास निर्माण भइरहेको छ, जुन आगामी दुई महिनाभित्र सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

बजेट अभावले काम नरोकिने

सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट सकिए पनि त्यसले काम प्रभावित नहुने आयोजना पक्षले जनाएको छ। आयोजना प्रमुख महतोका अनुसार आवश्यक दायित्व सिर्जना भएसँगै विभाग र अर्थ मन्त्रालयले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएकाले निर्माण कार्य निरन्तर चलिरहने विश्वास गरिएको छ।

सूर्यविनायकदेखि साँगासम्मको ७.५ किलोमिटर सडक निर्माणका लागि आशिष कुमार श्रेष्ठ/बन्धन/भगवती जेभी सँग भ्याटसहित करिब तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा २०७९ पुसदेखि काम भइरहेको छ।

यस्तै साँगादेखि धुलिखेलसम्मको ८.५ किलोमिटर सडक निर्माणको जिम्मा लामा कन्स्ट्रक्सन ले चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा पाएको छ। आयोजना अन्तर्गत सम्पूर्ण काम आगामी मङ्सिरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।