
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्रीकविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका छन्।
पार्टीले सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले शपथपछि बस्ने पहिलो बैठकले संसदीय दलको नेता चयन गर्ने जानकारी दिए।
उनका अनुसार सांसदहरूको शपथ सम्पन्न भएपछि तत्कालै बस्ने दलको बैठकबाट संसदीय दलको नेतृत्व टुंगो लगाइनेछ।
“सांसदहरूको शपथपछि दलको बैठक बस्छ र त्यसले संसदीय दलको नेता चयन गर्छ। त्यसपछि मात्रै प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढ्छ,” उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने संसदीय दलको नेताका रूपमा वरिष्ठ नेताबालेन शाहलाई अघि सार्ने तयारी गरेको छ। पार्टीले निर्वाचनअघि नै उनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेको थियो।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले करिब दुई तिहाइ बहुमत नजिक १८२ सिट जितेको दाबी गरिएको छ। शपथग्रहणअघि पार्टीले आफ्ना नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया र पार्टी नीतिबारे जानकारी गराउन दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।










Facebook Comments