काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएपछि नेपाली कांग्रेसभित्र आन्तरिक विवाद सतहमा देखिन थालेको छ। सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा निकट समूहबीच आरोप–प्रत्यारोप बढ्दै गएको हो।

चुनावपछि देउवा निकट केही नेताहरूले विशेष महाधिवेशनमार्फत थापा नेतृत्व स्थापित भएको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरूले सभापति थापालाई औपचारिक रूपमा स्वीकार नगरेको संकेत पनि दिएका छन्।

ad

देउवा पक्षका नेताहरू कृष्णप्रसाद सिटौला, जीतजंग बस्नेत तथा मीनबहादुर विश्वकर्मा लगायतले विशेष महाधिवेशनलाई आफूहरूले वैधानिक रूपमा नचिनेको धारणा सार्वजनिक गर्दै आएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता विश्वकर्माले चुनावी सहकार्यका आधारमा मात्रै गगन थापासँग काम गरिएको बताए। उनले विशेष महाधिवेशनलाई आफूहरूले मान्यता नदिएको दोहोर्‍याउँदै पार्टीभित्र दुई नेतृत्वजस्तो अवस्था देखिएको टिप्पणी गरे।

उनले भने, “हाम्रो पार्टीमा अहिले दुई प्रकारको नेतृत्व देखिएको छ—एक १४ औँ महाधिवेशनबाट निर्वाचित र अर्को विशेष महाधिवेशनको नाममा घोषणा गरिएको।”

यस विषयमा कांग्रेसका प्रवक्ता देवराज चालिसे सँग प्रतिक्रिया माग्दा उनले व्यक्तिगतरूपमा आएका अभिव्यक्तिबारे पार्टीले टिप्पणी नगर्ने बताए।

उनले भने, 'सडकमा कसले के बोल्यो भनेर सबैको जवाफ दिँदै हिँड्न सकिँदैन। पार्टी आफ्नै पद्धति र प्रक्रियाअनुसार चल्छ।'

प्रवक्ता चालिसेले पार्टी अहिले निर्वाचनको समीक्षा गर्ने तयारीमा रहेको र त्यसपछि नियमित महाधिवेशनको विषयमा छलफल सुरु हुने बताए। उनका अनुसार महाधिवेशनको समय र प्रक्रिया केन्द्रीय समितिको बैठकले तय गर्नेछ।

सभापति थापाले राजीनामा दिने चर्चा बजारमा चलेको विषयमा पनि उनले स्पष्ट टिप्पणी गर्न चाहेनन्।

'यदि सभापतिले राजीनामा दिने हो भने त्यो केन्द्रीय समितिको बैठकमै प्रस्तुत हुन्छ। बाहिर हल्ला चलेको विषयमा अहिले टिप्पणी गर्ने अवस्था छैन,' उनले भने।

उनका अनुसार पार्टी पुनर्संरचना र आगामी कार्ययोजनाबारे पनि केन्द्रीय समितिबाटै निर्णय हुनेछ।