काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको समितिले विगतमा नअल्झेर भविष्यमा कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति बनाउने बताएको छ ।

प्रवक्ता देवराज चालिसेले पुरानो बाटोमा अल्झिएर नयाँ बाटो तय नहुने बताए । ‘हामी विगतमा अल्झिएर नयाँ बाटो तय गर्न सक्दैनौँ । त्यसैले वैधानिकता पाएर अगाडि बढिसकेपछि पछाडि फर्कन हुन्न भन्ने धारणा हाम्रो छ,’ प्रवक्ता चालिसेले भने, ‘वैधानिकता नहुँदासम्म एउटा विषय थियो होला । अब वैधानिकता पाएर अगाडि बढेपछि पछि फर्कने होइन, अगाडिको बाटो तय गर्ने हो ।’

ad

उनले विशेष महाधिवेशनमा छुटेकाहरूलाई नियमित महाधिवेशनबाट पुनः नेतृत्वमा आउन बाटो खुला रहेको बताए । ‘लोकतान्त्रिक प्रक्रियामा जाँदा कोही छुट्छ । कोही आउँछ । त्यो स्वाभाविक हुन्छ,’ चालिसेले भने, ‘छुटेकाहरू निकट भविष्यमा हुने नियमित महाधिवेशनबाट पुनः नेतृत्वमा आउनुहुन्छ ।’

गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनमा २०७८ साल मंसिरमा भएको १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा, नेता डा. शेखर कोइरालासहितका नेताले स्वीकार गर्न आनाकानी गरेका छन् । 

 ती नेताहरूलाई समेट्नेबारे सोधेको प्रश्नमा प्रवक्ता चालिसेले १५ औँ महाधिवेशनबाट जितेर आउन बाटो खुला रहेको बताएका हुन् । 

प्रवक्ता चालिसेले महाधिवेशन नस्वीकारेको भनिएकाहरू निर्वाचनमा विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वबाट टिकट लिएर निर्वाचन लडेपछि अब विवाद कायमै छ भन्नु उपयुक्त नभएको बताए ।

 ‘महाधिवेशनमा सहभागी नभएका नेताहरू नयाँ नेतृत्वसँग टिकट लिएर निर्वाचन लड्नुभयो,’ चालिसेले भने, ‘एक÷दुई जना निर्वाचन नलड्नेहरूले भन्दैमा पुरानो कुरामा फर्किनुहुन्न । अगाडि कसरी बढ्ने भन्ने योजना बनाउनुपर्छ ।’ निर्वाचन नलडेकाहरू पनि निर्वाचनको प्रचारप्रसारका काममा खटिएको पनि चालिसेको भनाइ छ ।

प्रवक्ता चालिसेले अहिलेको समय विवादमा अल्झिने नभई कार्यकर्तालाई एकताको सन्देश दिने भएको बताए । ‘अहिले हामी विवादमा अल्झिन हुन्न । एकताबद्ध भएर कार्यकर्ताको मनोबल बढाउने काम गर्नुपर्छ,’ चालिसेले भने ।