
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ निर्वाचित ५७ सांसदको नाम सिफारिस गर्दा पार्टीभित्र र बाहिर सबैभन्दा बढी चर्चा भएको नाममध्ये एक थियो—प्रमोद न्यौपाने। तर खस–आर्य पुरुषतर्फ उच्च प्राथमिकतामा रहे पनि उनी अन्तिम सूचीमा अटाउन सकेनन्, जसले पार्टीभित्रै प्रश्न उठाएको छ।
रास्वपाको बन्दसूचीअनुसार खस–आर्य पुरुषतर्फ तेस्रो स्थानमा रहेका न्यौपाने समानुपातिक सांसद बन्ने प्रबल दाबेदार मानिएका थिए। पार्टीभित्र उनको सक्रियता, नेतृत्वसँगको निकटता र संगठन निर्माणमा दिएको योगदानका कारण उनी संसद प्रवेश गर्ने लगभग निश्चित जस्तै ठानिएको थियो। तर अन्तिम सिफारिसमा उनको नाम नआएपछि धेरैलाई आश्चर्य लागेको स्रोतहरू बताउँछन्।
न्यौपाने औपचारिक रूपमा पार्टीको पदमा नरहे पनि रास्वपाभित्र प्रभावशाली कार्यकर्तामध्ये एक मानिन्छन्। समानुपातिक उम्मेदवार छनोटका लागि पार्टीले सञ्चालन गरेको आन्तरिक मतदानमा उनले उच्च मत प्राप्त गरेका थिए। पार्टीका नीति दस्तावेज तयार पार्ने, नेतृत्वका वक्तव्य लेखन गर्ने तथा रणनीतिक सामग्री तयार पार्ने काममा उनको भूमिका उल्लेखनीय रहेको नेताहरू बताउँछन्।
सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि उनको बचाउमा सक्रिय रूपमा उभिनेमध्ये न्यौपाने अग्रपंक्तिमा देखिएका थिए। विभिन्न सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जालमार्फत उनले उक्त मुद्दा राजनीतिक प्रेरित भएको तर्क राख्दै लामिछानेको पक्षमा जनमत निर्माण गर्ने प्रयास गरेका थिए।
रास्वपाले लामिछानेको समर्थनमा सञ्चालन गरेको देशव्यापी हस्ताक्षर अभियानमा पनि न्यौपाने सक्रिय थिए। पार्टी स्रोतका अनुसार अभियानका सामग्री तयार पार्ने तथा प्रचार रणनीतिमा उनको महत्वपूर्ण भूमिका थियो। पत्रकारिता पृष्ठभूमिबाट आएका न्यौपाने लामिछानेसँग विगतदेखि नै सहकार्य गर्दै आएका छन्।
तर अन्तिम चरणमा समानुपातिक सांसद छनोट गर्दा राजनीतिक समीकरण र क्लस्टर व्यवस्थापनका कारण उनको सम्भावना कमजोर भएको बताइन्छ। संविधानअनुसार संघीय संसदमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भएकाले रास्वपाले समानुपातिकबाट धेरै महिला उम्मेदवार चयन गर्नुपर्ने अवस्था थियो।
यसबीच पार्टी स्रोतहरूका अनुसार समानुपातिक सूची टुंग्याउने क्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले केही नामबारे विशेष चासो देखाएको चर्चा पनि भएको छ। आदिवासी–जनजाति र मधेसी क्लस्टरबाट केही पुरुष उम्मेदवार समेट्नुपर्ने उनको अडानपछि खस–आर्य पुरुषतर्फको सम्भावित स्थान झनै सीमित भएको बताइन्छ।
अन्ततः खस–आर्य पुरुषतर्फ रमेश प्रसाईंको नाम मात्र समावेश भयो भने अन्य क्लस्टरबाट थप पुरुष उम्मेदवार चयन गरिए। यसरी सीमित कोटामा प्राथमिकता फेरबदल हुँदा न्यौपाने सूचीबाहिर परेका हुन्।
यद्यपि रास्वपाका नेताहरूले समानुपातिक सूचीबारे औपचारिक रूपमा विस्तृत टिप्पणी गर्न चाहेका छैनन्। पार्टीका जिम्मेवार पदाधिकारीहरू अहिले यस विषयमा सार्वजनिक रूपमा बोल्न इच्छुक नदेखिएको बताइन्छ।
सूचीबाट छुटेपछि न्यौपानेले भने पार्टीको निर्णय स्वीकार्ने बताएका छन्। उनले आफू पार्टीको नीति र नेतृत्वको पक्षमा सक्रिय रहिरहने बताउँदै व्यक्तिगत न्याय–अन्यायको बहस गर्ने समय अहिले नभएको प्रतिक्रिया दिएका छन्।
उनले भने, 'पार्टीले मभन्दा योग्य ठानेर अरूलाई अवसर दिएको छ भने त्यो पनि सम्मानजनक कुरा हो। अहिले संगठनलाई बलियो बनाउनेतर्फ ध्यान दिनु आवश्यक छ।'
समानुपातिक सिफारिसको यो निर्णयले भने रास्वपाभित्र आन्तरिक समीकरण र प्रभावबारे नयाँ बहस सुरु गराएको छ।










Facebook Comments