
काठमाडौं । नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुनमा सम्पन्न निर्वाचनको परिणाम पार्टीको अपेक्षाअनुसार नआएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेले सोचेभन्दा कमजोर नतिजा आएको स्वीकार गरे। उनले निर्वाचनअघि जनताबाट सकारात्मक प्रतिक्रिया पाएको अनुभव भए पनि अन्तिम परिणाम भने अपेक्षाभन्दा कम आएको बताए।
तामाङका अनुसार निर्वाचनपछि मतदातालाई धन्यवाद दिन जाँदा पनि जनताले साथ दिएको अनुभूति भएको तर परिणामले भने त्यो समर्थन पूर्ण रूपमा प्रतिबिम्बित नगरेको जस्तो देखिएको उनको धारणा थियो।
उनले एमालेले हालै मात्र एघारौँ महाधिवेशन सम्पन्न गरेको स्मरण गराउँदै अहिले नै पार्टीको नेतृत्व वा नीतिमा परिवर्तनको बहस चलाउनु आवश्यक नरहेको बताए। वर्तमान नेतृत्व र नीतिको निरन्तरतामै पार्टीलाई पुनः सशक्त बनाइने उनको भनाइ छ।
तामाङले निकट भविष्यमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्ने र त्यहाँ निर्वाचन परिणामसहित समग्र राजनीतिक अवस्थाबारे विस्तृत समीक्षा गरिने जानकारी दिए।
यसै क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको मतबारे पनि गहिरो विश्लेषण गर्नुपर्ने आवश्यकता औंल्याए। जनताबाट रास्वपालाई उल्लेखनीय समर्थन प्राप्त भएको स्वीकार गर्दै उनले उक्त मत कसरी आएको भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको बताए।
केही निर्वाचन क्षेत्रका मतपत्रलाई प्राविधिक रूपमा परीक्षण गर्न सकिने सम्भावनाबारे पनि उनले उल्लेख गरे।
त्यसैगरी तामाङले संसदभित्र आफ्नो पार्टीको आवाज दबाउने प्रयास भए एमाले सडक संघर्षमा उत्रिन सक्ने चेतावनी दिए। सुशासनका लागि सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुनी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै उनले २०४८ सालयताका सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन हुनुपर्ने धारणा राखे।










Facebook Comments