काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणसँग सम्बन्धित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाउने निर्णयविरुद्ध दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतमा सोमबार पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आज सुनुवाइका लागि पेश भए पनि बहस नसकिएकाले मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको हो। उक्त रिटमाथि अब भोलि पुनः सुनुवाइ हुने अदालत स्रोतले जनाएको छ।

ad

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगी प्रकरणसँग जोडिएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधन गर्न सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन्। सो निर्देशनअनुसार लामिछानेमाथि सहकारी ठगीसम्बन्धी मुद्दामात्र अघि बढाउने तयारी गरिएको थियो।

महान्यायाधिवक्ताको उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल तथा युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्। उनीहरूले गम्भीर प्रकृतिका अभियोग हटाउने निर्णय कानूनविपरीत भएको दाबी गर्दै त्यसलाई बदर गर्न माग गरेका छन्।

महान्यायाधिवक्ता भण्डारीले पुस ३० गते सदर गरेको सात पृष्ठ लामो टिप्पणी तथा आदेशमार्फत लामिछानेमाथि सहकारी ठगीबाहेकका अन्य दुई अभियोग हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएको उल्लेख गरिएको छ। अहिले सो निर्णयको वैधानिकतामाथि सर्वोच्च अदालतमा बहस भइरहेको छ।