
काठमाडौं । कर्णाली प्रदेशको दुर्गम क्षेत्रमा सेवा दिइरहेका एक चिकित्सकले चार महिनादेखि तलब नपाएको भन्दै सम्बन्धित निकायप्रति असन्तुष्टि जनाएका छन्। छात्रवृत्ति करारअन्तर्गत जुम्लामा कार्यरत डाक्टर आशिष प्याकुरेलले सेवा सुरु गरेको लामो समय बित्दा पनि पारिश्रमिक नपाउँदा निराश भएको बताएका हुन्।
डा. प्याकुरेल जुम्लाको कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन्। उनी चार महिनाअघि छात्रवृत्ति करारमार्फत कर्णालीको दुर्गम क्षेत्रमा सेवा दिन पठाइएका थिए। तर सेवा सुरु गरेयता आफूले प्रदेश सरकारबाट तलब नपाएको उनको भनाइ छ।
'मैले पटक–पटक जिल्ला जनस्वास्थ्य कार्यालयमा सोध्दा पनि स्पष्ट जवाफ पाएको छैन,' उनले भने, 'प्रदेशमा बुझ्दा केन्द्रबाट रकम आएको छैन भन्ने जानकारी दिइन्छ।'
उनका अनुसार दुर्गम क्षेत्रमा चिकित्सकको अभाव रहेको अवस्थामा यस्तो अवस्था रहिरहे भविष्यमा यहाँ काम गर्न आउने चिकित्सकहरू निरुत्साहित हुन सक्ने खतरा छ। 'कर्णालीमा काम गर्नु आफैंमा चुनौतीपूर्ण छ। त्यसमाथि छात्रवृत्ति बन्धनमा आएका चिकित्सकले पनि समयमै तलब नपाए भविष्यमा यहाँ काम गर्न इच्छुक हुनेहरू घट्न सक्छन्,' उनले बताए।
जुम्लाको कठोर मौसम र दुर्गम अवस्थाबीच स्वास्थ्य सेवा दिइरहँदा पारिश्रमिक नपाउँदा मनोबल घटेको उनले सुनाए। 'दुर्गम क्षेत्रमा बसेर सेवा गरिरहेको छु, तर चार महिनादेखि तलब नआउँदा निकै निराश भएको छु,' उनले भने।
सम्बन्धित निकायले आफ्नो समस्या सुनेर चाँडै समाधान गरिदिने अपेक्षा रहेको उनको भनाइ छ। अहिले उनी नियमित रूपमा बिरामीलाई सेवा दिइरहेको र स्वास्थ्य केन्द्रमा चिकित्सकीय जिम्मेवारी सम्हालिरहेको बताएका छन्।










Facebook Comments