
काठमाडौं । विशेष अदालत काठमाडौंले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचारसम्बन्धी मुद्दामा नेपाली कांग्रेसका पूर्व सांसद सन्तोष चालिसेलाई धरौटीमा छोड्न आदेश दिएको छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले चालिसेलाई धरौटीमा छोड्न आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २८ गते चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ गैरकानुनीरुपमा आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको थियो। आयोगले सोही रकम बराबरको बिगो कायम गरी स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजायको माग गरेको थियो। चालिसे गोकर्णेश्वर नगरपालिकाका तत्कालीन मेयर समेत हुन्।
चालिसे २०७४ जेठ ८ गते मेयर पदमा निर्वाचित भएका थिए। सार्वजनिक पदमा प्रवेश गरेदेखि २०७९ असार ३२ गतेसम्मको जाँच अवधिमा चालिसे र उनको परिवारको नाममा रहेको सम्पत्ति आय भन्दा व्यय बढी देखिएको अख्तियारको ठहर छ।
सोही अवधिमा चालिसे र उनको परिवारको नाममा रहेको सम्पत्तिमध्ये ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँको स्रोत पुष्टि गर्न नसकेको अख्तियारको आरोप छ।
अख्तियारले चालिसेको पत्नी मन्दिरा,छोराहरू सागर र सन्दीपका साथै बुहारी प्रमीला पोखरेललाई प्रतिवादी बनाएको छ। उनीहरूको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्न समेत माग गरेको आरोप पत्रमा उल्लेख छ।









Facebook Comments