काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको अवस्थाको निरीक्षण गरेकी छन् ।

बबरमहलस्थित कार्यालय पुगेर कार्कीले सेवा प्रवाहमा अपनाइएको सार्वजनिक सम्बोधन प्रणाली (पब्लिक अनाउन्समेन्ट सिस्टम) बारे जानकारी लिइन् ।

ad

काठमाडौंका सीडीओ ईश्वरराज पौडेलले सेवालाई छिटो-छरितो र झन्झटरहित ढंगले प्रवाह गर्न सूचना प्रविधिमा आधारित प्रणाली लागू गरिरहेको जानकारी गराए ।
टोकन प्रणाली लागू गरिएपछि गुनासो शून्य भएको र बिचौलियाको भूमिका पनि समाप्त भएको उनको भनाइ थियो ।

दैनिक सरदर एक हजार सेवाग्राही आउने यस कार्यालयका प्रत्येक काउन्टर र शाखाको सीसीटीभीबाट अनुगमनको व्यवस्था मिलाइएको साथै सेवाग्राहीलाई वाईफाई, तातोपानी र चिसो पानीको व्यवस्था मिलाइएको पौडेलले जानकारी गराए ।

प्रशासनको नयाँ प्रणालीको प्रशंसा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो ढाँचा देशैभरका सेवाग्राहीको चाप भएका कार्यालयमा लागू गर्न आवश्यक रहेको औँल्याइन् ।