काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेपछि व्यापक आलोचना भईरहेको छ ।

नवनिर्वाचित सांसद एवम् पूर्व शिक्षा मन्त्री महावीर पुनले उक्त नियुक्ति सय प्रतिशत गलत भएको र प्रधानमन्त्री कार्कीले कमाएको ऐतिहासिक इज्जत धुलोमा मिलाएको टिप्पणी गरेका छन् ।

ad


नातावाद, चाकरीवाद, कृपावाद र चापलुसीवादका कारण पुराना दलहरू कमजोर भएको स्मरण गराउदै पुनले यस्तै प्रवृत्ति दोहोरिए नयाँ दलहरू पनि भविष्यमा समाप्त हुन सक्ने चेतावनी समेत दिएका छन्। साथै उनले उक्त नियुक्तिबारे आउने सरकारले विवेकपूर्ण निर्णय लिनुपर्ने धारणा व्यक्त गरेका छन्।

हिजो आइतबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सिन्धुली स्थायी घर भएका श्रेष्ठलाई आगामी पाँच वर्षको लागि अध्यक्षमा मनोनित गरिएको हो । कोषको संरक्षकमा भने प्रधानमन्त्री आँफै रहने व्यवस्था छ ।

उनले लेखेका छन्, प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आफ्नै स्वकिय सचिव आदर्श श्रेष्ठ लाई गरेको नियुक्ती १०० प्रतिशत गलत हो । आर्दश भाई, प्रधान मन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाको खातीर त्यो पद नलिउ । त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देउ । यस्तै किसिमको नातावाद, चाकरीवाज, कृपावाद, चापलुसीवादले पुराना दलहरु खतम भए । यहि पाराले काम गर्ने हो भने नयाँ दलहरु पनि कालान्तरमा मासिन्छन् । होसियार गर्ने म छु । त्यो नियुक्ती अव आउने सरकारले बुद्धि पुऱ्याएर गरोस् ।

यस्तै पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले पनि अरूले गर्दा नातावाद र कृपावाद भनिने त्यही कामलाई आफूले गर्दा योगदानको कदर नहुने बताएकी छन् । अरूले गर्दा भागबन्डा हुने त्यही काम आफूले गर्दा जिम्मेवारी बाँडफाट र अरूले गरे सेटिङ’ भनिने त्यही काम आफूले गर्दा पारस्परिक सम्बन्ध नहुने उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।