
काठमाडौं । मुलुकको विषम राजनीतिक परिस्थितिमा अन्तरिम सरकारको नेतृत्व सम्हालेकी सुशीला कार्की ले तोकिएको समयमै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराएर आफ्नो मुख्य जिम्मेवारी पूरा गरेको बताएकी छन्।
फागुन २१ गते शान्तिपूर्ण रूपमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेको र नयाँ सरकार गठनको तयारी भइरहेका बेला उनले सरकारलाई दिइएको जिम्मेवारी पूरा गर्न सकेकोमा सन्तोष व्यक्त गरेकी हुन्।
प्रधानमन्त्री कार्कीका अनुसार सुरुवातमा निर्वाचन हुने वा नहुने भन्ने अनिश्चितता भए पनि अन्ततः सबै पक्षको सहयोगमा चुनाव सफलतापूर्वक सम्पन्न भयो। 'देशको चिन्ता सबैलाई थियो। एउटा अनिश्चितताबीच शान्तिपूर्ण निर्वाचन सम्पन्न भयो। सरकारलाई दिइएको जिम्मेवारी समयमै पूरा गर्न सकेकामा खुसी लागेको छ,' उनले भनिन्।
प्रधानमन्त्री कार्कीले सरकारको नेतृत्व सम्हाल्दा धेरै चुनौतीहरू रहेको बताइन्। विशेषगरी जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण सरकारप्रति विश्वास कम रहेको र विभिन्न दल तथा समूहबाट आलोचना र अविश्वास सामना गर्नुपरेको उनले स्मरण गरिन्।
'हाम्रो पछाडि ठूलो संगठन वा समर्थक समूह थिएन। सीमित व्यक्तिहरू मिलेर सरकार चलाउनुपर्यो। धेरैले सरकार सफल हुँदैन भने,' उनले भनिन्।
उनका अनुसार आलोचना, अविश्वास र विभिन्न दबाबबीच पनि सरकारले निर्वाचन सम्पन्न गराउन केन्द्रित भएर काम गरेको थियो।
प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन सुरक्षा निकाय, निर्वाचन आयोग र सरकारी निकायहरूको भूमिका महत्वपूर्ण रहेको बताइन्। राष्ट्रपति बन्न इच्छुक नरहेकाे उनकाे आशय थियाे ।
उनले निर्वाचन आयोगका पदाधिकारीहरूको विशेष योगदान रहेको उल्लेख गर्दै आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित पदाधिकारीहरूलाई धन्यवाद दिइन्।
त्यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागले एकीकृत सुरक्षा योजना बनाएर निर्वाचनलाई शान्तिपूर्ण बनाएको उनले बताइन्।
निर्वाचनका लागि देशभरका राजनीतिक दलसँग निरन्तर संवाद र छलफल गरिएको पनि उनले बताइन्। उनका अनुसार मुलुकमा १२५ भन्दा बढी दलसँग संवाद गरी निर्वाचनतर्फ वातावरण बनाउन प्रयास गरिएको थियो।
प्रधानमन्त्री कार्कीले प्रमुख राजनीतिक दलका नेताहरूसँग समेत पटक–पटक छलफल गरेको बताइन्, जसमा शेरबहादुर देउवा, केपी शर्मा वली, पुष्पकमल दाहाल लगायतका नेताहरू रहेका थिए।
निर्वाचन परिणाममा नयाँ दलको उल्लेख्य सफलता देखिएको विषयलाई उनले जनताको परिवर्तनको चाहनाको अभिव्यक्तिका रूपमा लिएकी छन्।
'यो परिणाम युवाको मत हो। परिवर्तनको चाहना देखिएको छ,' उनले भनिन्। तर उनले पुराना दल आत्तिनु नपर्ने र नयाँ दल पनि मात्तिनु नपर्ने सुझाव दिइन्।
सरकारले सुशासन र मितव्ययितालाई प्राथमिकता दिएको भन्दै प्रधानमन्त्री कार्कीले अनावश्यक खर्च कटौती गरिएको जानकारी दिइन्। निर्वाचन खर्च पनि अपेक्षाभन्दा कम भएको उनले बताइन्।
नयाँ सरकारलाई सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जना मुख्य प्राथमिकता बनाउन उनले आग्रह गरिन्।
'देशको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो। युवालाई रोजगारी दिने वातावरण बनाउनुपर्छ,' उनले भनिन्।
प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा मुख्य जिम्मेवारी निर्वाचन सम्पन्न गराउनु रहेको र त्यो सफलतापूर्वक पूरा भएको उल्लेख गर्दै अब निजी जीवनमा फर्किने बताइन्।
'देशमा अब द्वन्द्व र तनावको अवस्था नहोस्, सबै मिलेर बस्ने वातावरण बनोस्,' उनले भनिन्।










Facebook Comments