काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा पराजयका कारणहरुसहित चुनावी समीक्षा प्रतिवेदन बुझाउन मातहतका समितिहरुलाई परिपत्र गरेको छ।

महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदीप पौडेलले प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई फागुन २९ गते परिपत्र गर्दै अधिकांश स्थानमा पार्टीका उम्मेदवार पराजित भएकोले त्यसको कारण पत्ता लगाएर पठाउन परिपत्र गरेका हुन्।

ad

 

पार्टीका मातहत समिति र सबै उम्मेदवारलाई गर्दै फागुन २१ गतेको निर्वाचनपछि प्राप्त निर्वाचन परिणामको समीक्षा, पराजयका कारणहरू, अनुभव, सुझाव तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू समेटी स विस्तृत समीक्षा प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा पठाउन कांग्रेसले अनुरोध गरेको हो।

‘फागुन २१ गतेको निर्वाचन पश्चात प्राप्त निर्वाचन परिणामको समीक्षा, पराजयका कारणहरू, अनुभव, सुझाव तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू समेटी सम्बन्धित प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरूले आ(आफ्नो तर्फबाट विस्तृत समीक्षा प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा पठाउनु हुन अनुरोध गरिन्छ,’ परिपत्रमा भनिएको छ।

कांग्रेसले अनुशासन समितिको विवरण र निर्वाचन समिक्षा प्रतिवेदन चैत्र ३ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन भनेको छ । 
पार्टी संगठनलाई अझ सुदृढ एवं प्रभावकारी बनाउने उद्देश्यले दिइएको कार्य उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न महामन्त्रीद्वयले अनुरोध गरेका छन् । 

पार्टी सदस्यहरूको व्यापक सहयोग, साथ र समर्पण हुँदाहुदै पनि निर्वाचन परिणाम पार्टीले अपेक्षा गरे अनुसार आउन नसकेको यथार्थ सबैका लागि आत्मसमीक्षाको विषय बनेको कांग्रेसको भनाइ छ।