
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नियोजित रूपमा दोषी देखाउन खोजिए देश द्वन्द्वमा फस्ने चेतावनी दिएका छन्।
शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचिव बस्नेतले अध्यक्ष ओलीमाथि लगाइने कुनै पनि आरोप निराधार रहने दाबी गरेका छन्।
कार्की आयोगको प्रतिवेदनलाई हतियार बनाएर सरकारले ओलीमाथि कारबाहीको तयारी गरे एमाले चुप नबस्ने बस्नेतले सुनाए।
‘हाम्रो अध्यक्षलाई दोषी देखाउने कुनै आधार र प्रमाण छैन। यदि प्रतिशोध साँधेर पक्राउ गर्ने वा जेल हाल्ने दुस्साहस गरियो भने मुलुक गम्भीर द्वन्द्वमा जान्छ,’ उनले थपे, ‘गलत रिपोर्ट बुझाएर सरकारले गलत कदम चाल्यो भने त्यसको भारी सरकारले नै बोक्नुपर्छ।’
आन्दोलनकै क्रममा प्रधानमन्त्री भएकै आधारमा ओलीमाथि कारबाही गर्नुपर्ने तर्क निरर्थक रहेको उनले औंल्याएका छन्।
विगतका जनआन्दोलन र द्वन्द्वकालमा भएका हजारौं हत्याको सन्दर्भ निकाल्दै उनले ती घटनाका राजनीतिक नेतृत्वलाई छाडेर ओलीलाई मात्र निसाना बनाउनु षड्यन्त्र हुने बताएका हुन्।
उनले भने, ‘विगतमा ४६ साल र ६२–६३ को आन्दोलनमा मरिचमान सिंहदेखि सूर्यबहादुर थापा र कमल थापासम्म सरकारमा थिए। जनयुद्धमा १७ हजार मारिए, बालकुमारी घटनामा युवा मारिए, जेलबाट भाग्दा १० जना र अन्य घटनामा २१ जनाको ज्यान गएको छ। के ती सबै घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीहरूलाई जेल हालियो त ?’










Facebook Comments