
काठमाडौं । भारतमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय स्तरको एनएक्सटी कन्क्लेभमा सहभागी हुन पूर्वमेयर रेनु दाहाल लाई सम्मानित वक्ताका रूपमा निमन्त्रणा गरिएको छ।
आयोजकका तर्फबाट भारतीय संसदको राज्यसभाका सांसद कार्तिकेय शर्मा ले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाएका हुन्। सम्मेलन मार्च १२, १३ र १४ मा भारत मण्डपम, नयाँ दिल्ली मा आयोजना हुँदैछ।
आयोजकका अनुसार उक्त समिटलाई भारतको वार्षिक क्यालेन्डर कार्यक्रमका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ। नीति निर्माण, शिक्षा, व्यवसाय, राजनीति, विज्ञान तथा प्रविधि लगायत क्षेत्रका अन्तर्राष्ट्रिय विचारकहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित कार्यक्रम आयोजना हुन लागेको हो।
सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ भने अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन सम्मानित अतिथिका रूपमा रहनेछन्।
यस्तै भारत सरकारका रेल, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री अश्विनी वैष्णव र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री जितेन्द्र सिंह लगायतका व्यक्तित्वले पनि कार्यक्रममा सम्बोधन गर्नेछन्।
आयोजकका अनुसार सम्मेलनमा ३० भन्दा बढी देशका सांसदहरू सहभागी हुने अपेक्षा गरिएको छ। साथै हार्वर्ड विश्वविद्यालय, क्यालिफोर्निया विश्वविद्यालय बर्कली, अक्सफोर्ड विश्वविद्यालय, क्याम्ब्रिज विश्वविद्यालय र स्ट्यानफोर्ड विश्वविद्यालय लगायत विश्वका २५ प्रमुख विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी तथा विभिन्न देशका उपकुलपति र विशेषज्ञहरू पनि सहभागी हुनेछन्।
कार्यक्रम प्रसिद्ध भौतिकशास्त्री ब्रायन ग्रीन सँगको सहकार्यमा आयोजना हुन लागेको जनाइएको छ। आयोजकले दाहालजस्ता नेतृत्वकर्ताको उपस्थितिले सम्मेलनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।
निमन्त्रणापत्रमा आगामी वर्षहरूमा यस फोरमलाई अझ प्रभावकारी बनाउने विषयमा सुझाव दिन पनि दाहाललाई आग्रह गरिएको छ।
भरतपुर महानगरपालिका की दुई कार्यकाल मेयर रहिसकेकी दाहाल हाल सक्रिय राजनीतिमा छन्। उनको सहभागितालाई नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा प्राप्त मान्यताका रूपमा पनि हेरिएको छ।










Facebook Comments