
काठमाडौं । सशस्त्र द्वन्द्वकालसँग सम्बन्धित युद्ध अपराधको आरोपमा दायर रिट निवेदनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई विरुद्ध सर्वोच्च अदालत मा सुनुवाइ जारी रहेको छ।
न्यायाधीश सपना मल्ल प्रधान, सुनिल कुमार पोखरेल र शान्तिसिंह थापा सम्मिलित इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको हो। यसअघि माघ २२ गते इजलासले मुद्दालाई ‘हेर्दा हेर्दै’मा राखेको थियो।
मुद्दा माओवादीका पूर्वलडाकु लेनिन विष्ट ले दायर गरेका हुन्। उनले तत्कालीन नेकपा माओवादी ले सशस्त्र द्वन्द्वका बेला आफूलाई बालसैन्यका रूपमा भर्ती गरी प्रयोग गरेको र पछि अयोग्य लडाकुको बिल्ला भिराएर शिविरबाट निकालिएको भन्दै युद्ध अपराध भएको जिकिर गरेका छन्।
रिट निवेदनमा द्वन्द्वकालमा बालसैनिकका रूपमा प्रयोग गरिएका व्यक्तिहरूलाई न्याय नदिइएको आरोप लगाउँदै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाइएको छ। निवेदकले आफूहरूलाई बालसैनिकको आधिकारिक पहिचान दिलाउन, परिपूरण तथा क्षतिपूर्ति उपलब्ध गराउन र न्याय सुनिश्चित गर्न अन्तरिम आदेश जारी गर्न माग गरेका छन्।
यसअघि उक्त रिट दर्ता गर्न खोज्दा सर्वोच्च अदालत प्रशासनले जेठ १६ गते दरपिठ गरेको थियो। त्यसविरुद्ध जेठ १८ गते दायर निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई को इजलासले दरपिठ बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो। सो आदेशपछि रिट औपचारिक रूपमा दर्ता भई अहिले सुनुवाइ भइरहेको हो।










Facebook Comments