काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ पम्फा भुसालले राजनीति विकृत बन्दै गएको टिप्पणी गरेकी छन् ।

मोतीदेवी स्मृति केन्द्रको कार्यक्रममा भुसालले विगतका राजनीतिक आन्दोलनहरूमा नेता तथा कार्यकर्ताले गरेको कठोर त्याग, तपस्या र जेलनेलको स्मरण गरिन् । अहिले कुनै संघर्षबिना ‘खादा र टीका’को भरमा पद र अवसर प्राप्त गर्ने होडबाजी चलेको उनको भनाइ छ ।

ad

त्यागको ठाउँमा सस्तो लोकप्रियता र अवसरवाद हाबी हुनु नेपाली राजनीतिको ठूलो विडम्बना भएको उनको भनाइ छ । आन्दोलनमा रगत पसिना बगाएका, किताबमा नाम नलेखिएका र मञ्चमा उपस्थित गराउन नसकिएकाहरू ओझेलमा परेको तर संघर्ष नै नगरेकाहरूले राजनीति गरिरहेको उनले बताइन् ।

'अहिले राजनीति पनि सस्तो भएको छ,' भुसालले भनिन्, 'एउटा खादा लाएर, टीका लाएर पनि राजनीतिक दलको नेता हुने, पार्टी प्रवेश हुने, नेतृत्वमा पुग्ने राजनीतिक अवसर प्राप्त गर्ने एउटा फेरि एउटा के भन्ने त्यसलाई ? यो त्यागको ठाउँमा त्यो भन्यो भने त त्यो त विकृति जस्तो लाग्छ ।'

न्यायपालिका, प्रशासन, सुरक्षा निकाय र राजनीतिमा महिलाहरूको बढ्दो उपस्थितिले केही आशा जगाएको उनले बताइन् । तर, ‘सस्तो अवसरवाद’ले समग्र आन्दोलनको मर्ममाथि प्रहार गरिरहेको उनको भनाइ छ ।