
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा आन्तरिक छलफल तीव्र बनेको छ। पार्टीभित्र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री बनाउने चर्चा चलिरहेकै बेला केही नेताहरूले भने सभापति रवि लामिछाने लाई प्रधानमन्त्री बनाउनु पर्ने आशय व्यक्त गर्न थालेपछि पार्टीभित्र नयाँ समीकरणको कसरत सुरु भएको छ।
रास्वपाले निर्वाचनमा ठूलो सफलता हासिल गरेपछि प्रारम्भिक रूपमा बालेनलाई संसदीय दलको नेता र भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने चर्चा चलेको थियो। तर पछिल्लो समय पार्टीका केही नेताहरूले सरकारको नेतृत्व पार्टी सभापति रवि लामिछानेले गर्नुपर्ने तर्क अघि सार्दै आएका छन्।
यही बहसका बीच पार्टीको विद्यमान विधान पनि अर्को महत्वपूर्ण मुद्दा बनेको छ। रास्वपाको विधानअनुसार संसदीय दलको नेता चयन गर्ने प्रक्रिया प्रतिनिधिसभा निर्वाचनअघि नै पार्टीका साधारण सदस्यहरूको मतदानबाट तय हुनुपर्ने उल्लेख छ।
तर चुनावअघि यस्तो प्रक्रिया पूरा नभएकाले अहिले निर्वाचित सांसदहरूबाट संसदीय दलको नेता चयन गर्ने विषयमा प्राविधिक जटिलता देखिएको छ। अर्कोतर्फ राजनीतिक दल सम्बन्धी ऐन २०७४ ले भने संसदीय दलको नेता निर्वाचित सांसदहरूले आफूमध्येबाट चयन गर्नुपर्ने व्यवस्था गरेको छ।
नेपालको संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान रहेको छ। त्यसैले रास्वपाले सरकार गठन गर्दा पार्टीभित्रबाट जसलाई संसदीय दलको नेता चयन गरिन्छ, उनी नै प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ।
यही कारण पार्टीभित्र बालेनलाई प्रधानमन्त्री बन्न नदिन केही नेताहरूले विधान संशोधन वा ‘बाधा अड्काउ फुकाउ’को विकल्प प्रयोग गर्ने विषयमा समेत छलफल सुरु भएको बताइएको छ। यसले संसदीय दलको नेता चयन प्रक्रियालाई पुनः व्यवस्थित गरेर नयाँ समीकरण बनाउने सम्भावना खुला राख्ने देखिन्छ।
रास्वपाको पहिलो महाधिवेशन नभएसम्म केन्द्रीय समितिलाई विधान संशोधन गर्ने अधिकार रहेकाले सरकार गठनअघि नै केन्द्रीय समिति बैठक बोलाएर आवश्यक निर्णय लिन सक्ने तयारी भइरहेको स्रोतहरू बताउँछन्।
निर्वाचन आयोगले अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने भएकाले त्यसअघि नै रास्वपाले संसदीय दलको नेता चयनको विषय टुंग्याउने प्रयास गर्ने देखिएको छ।










Facebook Comments