काठमाडाैं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले अपेक्षाभन्दा निकै कमजोर नतिजा बेहोरेको छ। प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले जम्मा १८ क्षेत्रमा मात्रै विजय हासिल गर्न सकेको छ। बाँकी १४७ क्षेत्रमा भने कांग्रेसका उम्मेदवार पराजित भएका छन्।

पराजित भएका क्षेत्रमध्ये ८४ स्थानमा कांग्रेस उम्मेदवार दोस्रो स्थानमा रहे भने ६३ क्षेत्रमा तेस्रो वा त्योभन्दा तल झरेका छन्। यस चुनावमा पार्टी सभापति गगन थापा सहित चुनाव लडेका सबै पदाधिकारी पराजित भएका छन्।

ad

कांग्रेसले कोशी प्रदेशमा ४ क्षेत्र जितेको छ। पाँचथरमा नरेन्द्रकुमार केरूङ, इलाम–१ मा निश्कल राई, तेह्रथुममा सन्तोष सुब्बा र सोलुखुम्बुमा प्रकाशसिंह कार्की विजयी भए।

मधेस प्रदेशका ३२ क्षेत्रमा कांग्रेसले जम्मा १ सिट जित्यो। रौतहट–२ मा मो. फिरदोश आलम निर्वाचित भए। बागमती प्रदेशमा पनि कांग्रेसले एक मात्रै सिट जित्न सक्यो। रसुवामा मोहन आचार्य विजयी भए।

गण्डकी प्रदेशमा २ क्षेत्र जित्यो। मनाङमा टेकबहादुर गुरुङ र मुस्ताङमा योगेश गौचन थकाली विजयी भए। लुम्बिनी प्रदेशमा कांग्रेसले २ सिट जित्यो। पाल्पा–१ मा सन्दीप राना र कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह निर्वाचित भए।

कर्णाली प्रदेशमा कांग्रेसले ५ क्षेत्र जित्यो। मुगुमा खड्ग शाही, हुम्लामा जयपति रोकाया, जाजरकोटमा खडकबहादुर बुढा, दैलेखमा बासना थापा र सुर्खेत–१ मा विष्णुबहादुर खड्का विजयी भए।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसले ३ क्षेत्र जित्यो। बाजुरामा जनकराज गिरी, अछाम–१ मा भरतकुमार स्वार र डोटीमा भरतबहादुर खड्का विजयी भएका छन्।

कांग्रेसका उम्मेदवारहरूले ८४ निर्वाचन क्षेत्रमा दोस्रो स्थान हासिल गरेका छन्। प्रदेशगत रूपमा कोशीमा १२, मधेसमा १५, बागमतीमा २०, गण्डकीमा १२, लुम्बिनीमा १२, कर्णालीमा ३ र सुदूरपश्चिममा १० क्षेत्रमा कांग्रेस दोस्रो भएको देखिन्छ।

केही निर्वाचन क्षेत्रमा भने कांग्रेसका उम्मेदवारले १० प्रतिशत मतसमेत ल्याउन नसकेपछि जमानत जफत भएको छ। निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा राखिने धरौटी रकम १० प्रतिशत मत नपुग्दा फिर्ता पाइँदैन।

कोशी प्रदेशमा झापा–२, झापा–३, झापा–५ र सुनसरी–१ गरी ४ क्षेत्रमा कांग्रेस उम्मेदवारको जमानत जफत भएको छ।

मधेस प्रदेशमा ९ क्षेत्रमा कांग्रेस उम्मेदवारले धरौटी जोगाउन सकेनन्। सप्तरी–१, सप्तरी–२, सिराहा–४, महोत्तरी–१, महोत्तरी–३, सर्लाही–२, सर्लाही–३, रौतहट–३ र बारा–४ मा जमानत जफत भएको हो।

बागमती प्रदेशमा काठमाडौं–७, काठमाडौं–८, भक्तपुर–१ र चितवन–३ गरी ४ क्षेत्रमा कांग्रेस उम्मेदवारको धरौटी जफत भएको छ।

लुम्बिनी प्रदेशमा रूपन्देही–३ मा मात्रै कांग्रेस उम्मेदवारको जमानत जफत भएको छ।

तर गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कांग्रेसका कुनै पनि उम्मेदवारको जमानत जफत भएको छैन।

यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गरेको छ। प्रत्यक्ष र समानुपातिक दुवै प्रणाली मिलाएर झन्डै दुई तिहाइ सिट जित्दा कांग्रेस भने जम्मा ३८ सिटमा सीमित भएको छ।

२०७९ को निर्वाचनमा सत्ता गठबन्धनसँग तालमेल गरेर ८९ सिट जित्दै पहिलो पार्टी बनेको कांग्रेस यसपटक भने कमजोर बनेको छ। यसपटक गगन थापा नेतृत्वमा “बदलियो कांग्रेस, बदल्छौं देश” नारासहित कांग्रेस चुनावमा गएको थियो।

निर्वाचनको परिणाम सार्वजनिक भएपछि कांग्रेसभित्र सभापति गगन थापाले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने वा नदिनुपर्ने विषयमा बहस सुरु भएको छ। स्रोतका अनुसार सभापति थापाले केही दिनअघि उपसभापति विश्वप्रकाश शर्मासँग राजीनामा दिने सम्भावनाबारे छलफलसमेत गरेका छन्।

कमजोर चुनावी प्रदर्शनपछि कांग्रेसभित्र नेतृत्व र रणनीतिबारे व्यापक समीक्षा हुने संकेत देखिएको छ।