काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमाडौं–६ बाट निर्वाचित सांसद शिशिर खनालले आगामी केही दिनभित्रै बालेन्द्र शाह प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। उनले जनतासँग गरिएको प्रतिबद्धता अनुसार नै शाहलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको बताएका छन्।

खनालका अनुसार निर्वाचनमा प्राप्त नतिजा पार्टीका लागि महत्वपूर्ण उपलब्धि भए पनि प्रत्यक्षतर्फ १२५ सिट जित्नु भने अपेक्षाभन्दा बढी सफलता हो। प्रारम्भिक विश्लेषणमा प्रत्यक्षतर्फ करिब १०० सिट जित्ने अनुमान गरिएको भए पनि अन्ततः त्योभन्दा बढी सिट प्राप्त भएको उनले बताए।

ad

उनले वैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा आउँदा जनताबाट असाधारण समर्थन प्राप्त हुने आकलन पार्टीले पहिले नै गरेको उल्लेख गरे। पुराना दलप्रति बढ्दो असन्तुष्टि र नयाँ विकल्पको खोजीले यस्तो परिणाम आएको उनको विश्लेषण छ।

खनालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर पार्टीले चुनावी अभियान सञ्चालन गरेको बताए। जनतासँगको प्रत्यक्ष भेटघाट र प्राप्त प्रतिक्रियाका आधारमा पनि शाहप्रति व्यापक समर्थन रहेको निष्कर्षमा पुगेको उनले बताए।

उनका अनुसार सामाजिक सञ्जाल, विदेशमा रहेका नेपालीहरूको समर्थन र युवा पुस्ताको सक्रियताले निर्वाचन परिणाममा ठूलो प्रभाव पारेको छ। घरदैलो अभियानका क्रममा डिजिटल माध्यममार्फत उम्मेदवार चिन्ने मतदाता धेरै भेटिएको अनुभव उनले सुनाए। विदेशमा रहेका नेपालीहरूले परिवारमार्फत चुनावी माहोल बनाउने काम गरेको पनि उनले बताए।

खनालले वैकल्पिक शक्तिहरूसँग सहकार्यको सम्भावना खुला रहेको बताए। कुलमान घिसिङ र हर्क साम्पाङ जस्ता व्यक्तित्वहरू पनि एउटै मोर्चामा आएका भए पार्टीले अझ धेरै निर्वाचन क्षेत्रमा जित हासिल गर्न सक्ने अवस्था रहेको उनको भनाइ छ।

नवनिर्वाचित सांसद खनालले अब सरकार गठनपछि पार्टीले जनतासँग गरेको ‘नागरिक करारपत्र’ कार्यान्वयनमा जोड दिने बताए। सुशासन, सार्वजनिक स्वास्थ्य, शिक्षा सुधार, रोजगारी सिर्जना तथा विदेशमा रहेका नेपालीहरूको अधिकार र कनेक्टिभिटीका विषयमा प्राथमिकताका साथ काम गरिने उनले बताए।

उनले सरकार गठन भएपछि १०० दिनभित्रै देखिने खालका कामको परिणाम दिने तयारी रहेको पनि बताएका छन्। चुनावी परिणाम पूर्ण रूपमा सार्वजनिक भएपछि सरकार गठनका विषयमा औपचारिक छलफल सुरु हुने उनले जानकारी दिए।

खनालले बालेन्द्र शाह प्रधानमन्त्री बन्ने विषयमा पार्टीभित्र कुनै विवाद नरहेको दाबी गर्दै जनतासँग गरिएको वाचा अनुसार नै उनलाई प्रधानमन्त्री बनाइने स्पष्ट पारे। उनका अनुसार निर्वाचन परिणामको औपचारिक प्रक्रिया पूरा भएपछि सरकार गठनको प्रक्रिया अघि बढ्नेछ र एक साताभित्र शाह प्रधानमन्त्री बन्ने सम्भावना रहेको छ।