
काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि २१ फागुनमा सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा प्रत्यक्षतर्फ महिला उम्मेदवारी अझै न्यून देखिएको छ। निर्वाचन आयोगका अनुसार तीन हजार ४०६ उम्मेदवारमध्ये केवल ३८८ जना महिला रहेका छन्, जसमा १५७ स्वतन्त्र उम्मेदवार छन्।
मुख्य दलहरूले पनि सीमित महिलालाई मात्र उम्मेदवार बनाएका छन्। नेपाली कांग्रेसले १६५ क्षेत्रमा ११, नेकपा एमालेले १०, नेकपा माओवादी केन्द्रले ११ र राष्ट्रिय स्वतन्त्र पार्टीले १६ जना महिलालाई उम्मेदवार बनाएका थिए।
हालसम्म कांग्रेसबाट बासना थापा दैलेख–१ बाट निर्वाचित भएकी छन् भने रास्वपाबाट १३ महिला उम्मेदवार विजयी भइसकेका छन्। अन्य दल र स्वतन्त्रतर्फका महिला उम्मेदवारले भने सफलता पाएका छैनन्।
नेपालको संसदीय निर्वाचन इतिहासमा पनि महिलाको सहभागिता न्यून नै देखिन्छ। २०१५ सालको पहिलो आमनिर्वाचनमा सात महिला उम्मेदवारमध्ये एक मात्र निर्वाचित भएकी थिइन्। त्यसपछि २०४८ मा ८० महिला उम्मेदवारमध्ये आठ, २०५१ को मध्यावधिमा ८६ मध्ये सात, २०५६ मा १४२ मध्ये १२ जना विजयी भएका थिए।
२०६४ को संविधानसभा निर्वाचनमा ३६३ महिला उम्मेदवारमध्ये ३० जना विजयी भएका थिए भने २०७० मा इतिहासकै धेरै ६६७ महिला उम्मेदवार भए पनि केवल १० जना मात्र निर्वाचित भएका थिए। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा १४६ मध्ये ६ र २०७९ मा २२७ मध्ये ९ महिला उम्मेदवार विजयी भएका थिए।
निर्वाचन आयोगका अनुसार हाल देशभर १८ वर्ष पुगेका मतदाता एक करोड ८९ लाखभन्दा बढी छन्, जसमध्ये झण्डै ४९ प्रतिशत अर्थात् ९२ लाखभन्दा बढी महिला मतदाता छन्।
तर मतदाताको संख्याको तुलनामा उम्मेदवारी र निर्वाचित हुने महिलाको संख्या अझै न्यून देखिएको छ।










Facebook Comments