काठमाडौं । भारतको इन्स्च्यिुट अफ चाटर्ड एकाउन्टेट अफ इन्डिया (आईसीएआई)ले सन् २०२६ जनवरीमा सञ्चालन गरेको चार्टर्ड एकाउन्टेन्सी (सीए) परीक्षामा नेपालका सात विद्यार्थीले ‘अल इन्डिया र्‍यांक’ हासिल गरेका छन् । ती सबै विद्यार्थी काठमाडौंस्थित एकेडेमी अफ कमर्समा अध्ययनरत रहेको संस्थाले जनाएको छ ।

सीए फाउन्डेसन जनवरी २०२६ को नतिजाअनुसार सुमन कार्कीले ९०.२५ प्रतिशत अंकसहित अल इन्डिया र्‍यांक ३ हासिल गरेका छन् । अलिना भण्डारीले ८९ प्रतिशत अंकसहित अल इन्डिया र्‍यांक ७ प्राप्त गरेकी छन् ।

ad

सीए इन्टरमिडिएट जनवरी २०२६ परीक्षामा अंकितकुमार महतोले ७८.१७ प्रतिशत अंकसहित अल इन्डिया र्‍यांक ११ प्राप्त गरेका छन् । संगीत बुढाथोकीले र्‍यांक २३, अञ्जल श्रेष्ठले र्‍यांक ३१, आयुषा श्रेष्ठले र्‍यांक ३७ तथा मिलन सिग्देलले र्‍यांक ४२ हासिल गरेका छन् ।

एकेडेमी अफ कमर्सका प्रबन्ध निर्देशक सुनील पौडेलका अनुसार आईसीएआई अन्तर्गत सञ्चालन हुने प्रतिस्पर्धात्मक सीए परीक्षामा नेपाली विद्यार्थीले एकैपटक सातवटा ‘अल इन्डिया र्‍यांक’ हासिल गर्नु उल्लेखनीय उपलब्धि हो । 

उनका अनुसार यस उपलब्धिले अन्तर्राष्ट्रिय सीए पेसामा नेपाली विद्यार्थीप्रति गर्वको क्षण भएको बताए ।आईसीएआईको सीए परीक्षा विश्वकै कठिन व्यावसायिक परीक्षामध्ये एक मानिन्छ ।