काठमाडौं । प्रतिनिधिसभा कैलाली क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगतप्रसाद जोशी विजयी भएका छन् । जोशी २० हजार ३५९ मत प्राप्त गरी विजयी भए ।
जोशीका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार वीरमान चौधरीले ११ हजार ९८३ मत प्राप्त गरेका छन् ।
चौधरी २०७४ सालको सुदूरपश्चिम प्रदेश सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ (क)बाट तत्कालीन नेकपा (माओवादी)बाट चुनाव जितेका थिए । उनी २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार भीम बडुवालले नौहजार ७१० मत पाएका छन् । उनी प्रतिनिधिसभाका लागि कांग्रेसबाट नयाँ अनुहार हुन् । त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार गौरीशंकर चौधरीले चार हजार ७५२ मत पाएका छन् ।
दुईपटक प्रतिनिधिसभा र एकपटक संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका चौधरीको प्रतिनिधिसभामा यो दोस्रो पराजय हो ।
भजनी नगरपालिका वडा नम्बर ३ को २०७४ र २०७९ मा वडा अध्यक्षमा विजयी भएका नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले ६७४७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमले दुईहजार ३४७ मत पाए ।
उनी २०७९ सालको प्रतिनिधि सभामासमेत उम्मेदवार थिए । यहाँ ६० हजार २९४ मत खसेको निर्वाचन अधिकृत पुष्कलराज प्रसाईंले जानकारी दिए । राष्ट्रिय जनमोर्चा पार्टीको कैलाली जिल्ला अध्यक्षबाट राजीनामा दिएर गत साउनमा जोशी रास्वपा प्रवेश गरेका हुन् ।
समाजशास्त्र विषयमा स्नातकोत्तर तह गरेका ३९ वर्षीय जोशी लामो समय शिक्षण पेसामा संलग्न रहेका थिए । जन आन्दोलनका घाइतेसमेत जोशीले राष्ट्रिय जनमोर्चाबाट २०७० सालमा संविधानसभाको प्रत्यक्ष उम्मेदवार, २०७४ मा सुदूरपश्चिम प्रदेशसभाको समानुपातिक उम्मेदवार, २०७९ सालमा घोडाघोडी नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षको उम्मेदवार भई पराजय भएका थिए ।
उनले भने, ‘रास्वपा पार्टीले बहुमत ल्याउँछ भन्ने त सोचेको थिएँँ तर मैले यति धेरै मत पाउँछु भन्ने अपेक्षा गरेको थिइनँ । अरू कुरामा म सक्षम भए पनि आर्थिक रूपमा कमजोर र लामो समय सानो दलमा आबद्ध भएको र धेरै चर्चामा नआएका उम्मेदवार थिएँ, त्यसैले जे परिणाम आउँछ स्विकार्छु भन्ने सोचेर चुनावमा होमिएको थिएँ ।”
विगतमा आबद्ध दलबाट पनि नबिराउने नडराउने राजनीतिक संस्कार सिकेको जनाउँदै जोशीले इमानदारीबाट नडगमगाई जनता र देशका लागि काम गर्ने बताए ।










Facebook Comments