काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेलगायत उच्च अधिकारीको टोलीले निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे ललितपुरको बुङ्मती, लेले, नल्लु र ठेचोका विभिन्न मतदान केन्द्रहरूको निरीक्षण गरेको हो ।

सो अवसरमा मन्त्री अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकाले आसन्न प्रतिनिधिससभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरे । उनले भने, “स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ, त्यसैले मतदाताहरूलाई ढुक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गर्दछु ।”

ad

गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी भइसकेको जानकारी दिँदै आफू पनि सुरक्षित रहेर मतदानस्थल र मतपेटिका सुरक्षित गर्न मतदान अधिकृत र सुरक्षाकर्मीलाई आग्रह गरेका छन् । उनले निर्वाचनमा कुनै पनि किसिमको गैरकानुनी क्रियाकलाप भएमा वा गराइएमा दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिने बताए।

मन्त्री अर्यालले स्थानीय मतदातासँग कुराकानी गर्दै समग्र अवस्थाबारे जानकारी लिएका थिए । उनले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक पालना गर्न आग्रह हरेका छन् । निर्वाचनस्थलको अनुगमनपछि गृहमन्त्री अर्यालले शान्तिपूर्वक मतदान हुने र धेरैभन्दा धेरै जनता मतदानमा सहभागी हुने विश्वास व्यक्त गरे । 

मन्त्री अर्यालले मतदानस्थलको मतपेटिका सुरक्षा प्रवन्ध, मतपेटिका, ढुवानीसम्मको समग्र अवस्थाको अनुगमन गरी जानकारी लिए । साथै उनले मतदान स्थलमा खटिएका कर्मचारी, मतदान अधिकृत, सुरक्षाकर्मी र स्थानीयवासीसँग कुराकानी गरेका थिए ।

यसअघि आइतबार गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उच्च अधिकारीको टोलीले बाँकेको नेपालगञ्ज हुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुगेर निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमन गरेका थिए ।

त्यस्तै फागुन १५ गते गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको उच्चअधिकारी टोलीले दोलखा, ओखलढुङ्गा, मोरङ, रौतहट र पर्सामा निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा अन्य सरोकारवालासँग छलफल र अन्तक्र्रिया गरेको थियो ।

गृहमन्त्रालयमा प्रत्येक दिन केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनसँग सम्बन्धित दैनिक गतिविधिको समीक्षा र रणनीति तथा जनशक्ति परिचालनका साथै जिल्ला समन्वयको कामलाई प्रभावकारी बनाइएको छ । निर्वाचन सुरक्षा रणनीतिअन्तर्गत निर्वाचन अघि, निर्वाचनको अवधिमा र निर्वाचनपश्चात मतपत्रको ढुवानी, परिणाम घोषणासम्मका कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अन्तर्गत रही कार्य गरिरहेको मन्त्रालयले जनाएको छ ।