
काठमाडौं । नेकपा संयुक्तका कार्यबाहक अध्यक्ष घनश्याम भूसालले आगामी निर्वाचनलाई ‘अवाञ्छित तर अपरिहार्य’ भएको बताएका छन्। उनका अनुसार मुलुकले भोगिरहेको राजनीतिक संकट र जेनजी आन्दोलनपछिका घटनाको स्पष्ट निष्कर्ष ननिकाली चुनावमा जानु उचित होइन, तर वर्तमान परिस्थितिमा निर्वाचन टार्न पनि सम्भव नभएकाले यसलाई अपरिहार्य मान्नुपरेको हो।
भूसालले जेनजी आन्दोलनका क्रममा देखिएका असन्तुष्टि, हिंसा र त्यसपछिको अवस्थाबारे राज्यले स्पष्ट राजनीतिक तथा कानुनी जवाफ दिनुपर्ने बताए। दोषी पहिचान र दण्डित नगरी तथा जनआक्रोशको कारण विश्लेषण नगरी गरिने चुनावले दीर्घकालीन निकास नदिने उनको तर्क छ। उनले २३–२४ भदौका घटनाबारे सत्यतथ्य सार्वजनिक नगरी अघि बढ्दा लोकतन्त्र नै कमजोर बन्ने चेतावनी दिएका छन्।
मुख्य दलहरूप्रति पनि भूसालले तीखा टिप्पणी गरेका छन्। एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र नयाँ शक्तिहरूलाई उनले व्यवहारतः उस्तै भएको आरोप लगाए। उनका अनुसार पुराना दलहरू सत्ताकेन्द्रित र विचौलियातन्त्रमा फसेका छन् भने नयाँ शक्तिहरूसँग पनि स्पष्ट विचार, कार्यक्रम र वैकल्पिक मार्गचित्र छैन।
नेकपा संयुक्तले प्रत्यक्षतर्फ ३५ र समानुपातिकतर्फ १०९ उम्मेदवार उठाएको छ। यद्यपि पार्टी अध्यक्ष चन्द्रदेव जोशी र कार्यबाहक अध्यक्ष भूसाल स्वयं उम्मेदवार बनेका छैनन्। चुनावबाट सरकार गठन गर्ने अपेक्षा नरहेको संकेत गर्दै भूसालले आफ्नो दललाई वर्तमान राजनीतिक प्रवृत्तिको प्रतिपक्षी शक्तिका रूपमा स्थापित गर्ने घोषणा गरेका छन्।










Facebook Comments