काठमाडौं । आज फागुन १८ गते सोमबार मध्य रातिदेखि लागू हुने मौन अवधिलाई लक्षित गर्दै निर्वाचन आयोगले आचारसंहिता उल्लंघन हुन सक्ने सम्भावनाप्रति सचेत गराएको छ । 

आयोगले अनुगमन संयन्त्रलाई थप सक्रिय बनाउँदै नियमविपरीतका गतिविधि देखिएमा तत्काल कारबाही गर्न निर्देशन दिएको जनाएको छ।

ad

आयोगद्वारा जारी विज्ञप्तिमा प्रचारप्रसार निषेध अवधिमा कानुनले निषेध गरेका कुनै पनि प्रकारका गतिविधि नगर्न र नगराउन आग्रह गरिएको छ । 

सामाजिक सञ्जाल, सार्वजनिक अभिव्यक्ति, भेला वा अन्य माध्यमबाट मतदातालाई प्रभाव पार्ने प्रयासलाई कडाइका साथ नियन्त्रित गरिने संकेत आयोगले दिएको छ ।

निर्वाचनको दिन पालना गर्नुपर्ने आचरणको सूक्ष्म अनुगमन गर्न आयोगले विशेष निर्देशन दिएको छ । मतदानस्थल आसपासमा हुने सम्भावित अवाञ्छित गतिविधि रोक्न स्थानीय तहसम्म अनुगमन संयन्त्र परिचालन गरिने बताइएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीत कार्य गरेको पाइएमा कानुनी दायरामा ल्याइने स्पष्ट गरिएको छ। जिल्ला आचारसंहिता अनुगमन समितिसँग समन्वय गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने आयोगको भनाइ छ।

आयोगले मौन अवधिको उद्देश्य मतदातालाई स्वतन्त्र र दबाबमुक्त वातावरणमा निर्णय लिन अवसर दिनु भएकाले यसको पूर्ण पालना सबै पक्षबाट हुनुपर्नेमा जोड दिएको छ ।