काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले रुपन्देही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको छ । 

राप्रपा जिल्ला कार्य समिति रुपन्देहीले आइतबार एक विज्ञप्ति जारी गर्दै थापालाई आजैका मितिदेखि लागू हुने गरी निलम्बन गरिएको जानकारी दिएको हो । 

ad

थापामाथि व्यक्तिगत रूपमा आर्थिक प्रलोभनमा परी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको र पार्टीको अनुशासन उल्लंघन गरेको आरोप लगाइएको छ ।

जिल्ला सभापति सागर प्रताप राणाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘पार्टीको नीति तथा निर्देशनको विपरीत गएर व्यक्तिगत सम्झौता गरी पार्टीलाई हानि नोक्सानी पुऱ्याउने र विपक्षी दलका उम्मेदवारलाई समर्थन गर्ने जस्तो कार्य अत्यन्तै दुःखद् र निन्दनीय छ ।’

पार्टीले थापाको यस्तो क्रियाकलापले संगठनको छविमा आँच पुगेको ठहर गर्दै उनलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको पत्रमा उल्लेख छ । राप्रपा रुपन्देहीले पार्टीको अनुशासन र मर्यादा विपरीत जाने जो कोहीलाई पनि छुट नदिइने स्पष्ट पारेको छ ।